धरान: कोरोना महामारीको दोस्रो लहर शुरु भए यता धरानमा एक सातामै ५९ जनामा संक्रमण पुष्टि भएको छ । 

संक्रमणको यो दरले विगतमा जस्तै धरान पुनः कोरोनाको चपेटामा पर्नसक्ने खतरा बढेको छ । धरान उपमहानगरपालिकाको स्वास्थ्य महशाखा प्रमुख उमेश मेहताका अनुसार बैशाख ३ गतेदेखि आजसम्म एक साताको अवधिमा धरानमा ५९ जनामा संक्रमण देखिएको छ । उनका अनुसार आज बिहान मात्र १६ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने हिजो साँझ एकैदिन २० जनामा संक्रमण पुष्टि भएको थियो । 

यस्तै, धरानमा ७ गते ७ जनामा, ६ गते ५ जनामा, ५ गते ४ जनामा, ४ गते ४ जना र ३ गते २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएकाहरु सबै होम आइसोलेसनमा नै रहेको र सबैको अवस्था सामान्य रहेको पनि महाशाखा प्रमुख मेहताले जानकारी दिए । उनका अनुसार अधिकांश संक्रमितहरु भारत आउजाउ गरेकाहरु छन् । ‘धेरै जसो भारत आउजाउ गरेकाहरु छन्,’उनले भने,‘संक्रमणको दर बढ्दै गएकोले सबै सर्तक भएर, जनस्वास्थ्यको मापदण्ड पालना गरेर बस्न अनुरोध छ ।’