धरान: सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र यादवविरुद्ध पीडित नाबालिगकी आमाले जाहेरी दिएकी छिन् । 

हिजो राती नै १७ बर्षीया पीडितको आमा र दिदी आएर जर्बजस्ती करणीमा जाहेरी दिएको ईलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ । जाहेरी आएपछि दर्ता भइसकेको डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । पीडित नाबालिग भएकोले जाहेरी दिन अभिभावक आवश्यक पर्छ । पीडितको आमा र दिदी राती नै आएर जाहेरी दिएको र वयान पनि लिइसकेको डिएसपी बस्नेतले बताए । 

कोशी लोकमार्गको धरान भेडेटार सडक खण्डमा पर्ने धरान ४ स्थित डुकु होटल एण्ड लजबाट हिजो साँझ अध्यक्ष यादव पक्राउ परेका थिए । उनले नाबालिगलाई करणी गरेको आरोप छ । डुकु होटल यौन धन्दा गराउने होटलकोरुपमा वद्नाम छ । 

जागिर दिलाउने प्रलोभनमा करणी

गाउँपालिका अध्यक्ष यादवले पीडित नबालिगलाई जागिर दिलाइदिने प्रलोभनमा धरानको डुकु होटल पुर्याएर करणी गरेको खुलेको छ । प्रारम्भिक अनुसन्धान गर्दा यादव र पीडितबीच जागिरको सिलसिलामा सम्पर्क भएको प्रहरीले जनाएको छ । 

पीडितको घर इटहरी हो । डिएसपी बस्नेतका अनुसार हिजो पनि गाउँपालिका अध्यक्ष यादव गाडीमा इटहरी आएका थिए । त्यसपछि यादवले पीडितलाई गाडीमा हालेर लिएर गएको थियो । त्यसबेलासम्म पनि उनको अभिभावक तथा परिवारलाई यादवले कता लिएर गएको हो भन्ने थाह नपाएको प्रहरीलाई वयान दिएका छन् । ‘जागिरको कुरा गर्ने भनेर बोलाएको रहेछ । गाडीमा हालेर लैजादा पनि कता जाने हो भन्ने पनि थाह थिएन,’वयान उदृत गर्दै डिएसपी बस्नेतले भने,‘होटलमा पुर्याएपछि वियर खुवाएर जर्बजस्ती गरेको देखिन्छ ।’