विराटनगर: मोरङको गोठगाउँस्थित पुर्वाञ्चल विश्वविद्यालयमा हुन लागेको इञ्जिनियरिङ संकायको प्रश्नपत्र आउट गर्ने १० जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा विश्वविद्यालयका कर्मचारीसमेत रहेका छन् । एक जना पुर्व विद्यार्थी हुन् भने अन्य ८ जना विद्यार्थीहरु हुन् । बैशाख ३ गते हुन लागेको बि.ई.दोस्रो सेमेस्टरको फिजिक्स बिषयको मुल प्रश्नपत्र परीक्षा हुन केही घण्टा अघि नै बाहिरिएको थियो । घटनापछि प्रहरीले गहन अनुसन्धान शुरु गरेको थियो । पक्राउ परेकाहरुलाई मोरङ प्रहरीले आइतबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।

मोरङ प्रहरीका अनुसार विश्वविद्यालयका फोटोकपी गर्ने कर्मचारी कोमल प्रसाद गौतमले प्रश्नपत्र आउट गरेका थिए । उनले विश्वविद्यालयका पुर्वविद्यार्थी रहेका गोपाल कार्कीलाई प्रश्नपत्र सामाजिक सञ्जालमार्फत दिएका थिए । कार्कीले परीक्षार्थी विजय पोखरेललाई ८० हजारमा प्रश्नपत्र दिएका थिए भने पोखरेलले अन्य विद्यार्थीहरुलाई विभिन्न दरमा प्रश्नपत्र बिक्री गरेको खुलेको मोरङ प्रहरी प्रवक्ता एवं डिएसपी मञ्जिल मुकारुङले जानकारी दिए । 

मोरङ प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा विश्वविद्यालयका फोटोकपी गर्ने कर्मचारी विराटनगर ८ का ४४ बर्षीय कोमलप्रसाद गौतम, पुर्वविद्यार्थी संखुवासभाको मादी नगरपालिका ६ का ३५ बर्षीय गोपाल कार्की र विद्यार्थीहरु रुपन्देही तिलोचन नगरपालिका १२ का ३० बर्षीय विजय पोखरेल, गोर्खाको भिमसेन थापा गाउँपालिका १ का ३२ बर्षीय मिनप्रसाद भट्ट, गोर्खाको गण्डागी गाउँपालिका ३ का ३१ बर्षीय भरत पन्त, गोर्खा नगरपालिका ४ का २६ बर्षीय विकास खड्का रहेका छन् ।

यस्तै, सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ४ का २८ बर्षीय निर्मल खड्का, महोत्तरीको रामगोपालपुर नगरपालिका ९ का २९ बर्षीय नानीपथ मण्डल, सप्तरीको वोदेवरसाईन नगरपालिका ७ का २९ बर्षीय जीवनकुमार यादव र सप्तरीकै अग्नीसायर कृष्णसवरण गाउँपालिका ५ घर भई हाल भक्तपुर लोकन्थली बस्ने २६ बर्षीय महेश यादव रहेका छन् । पक्राउ परेकाहरुलाई शिक्षा ऐन २०२८ वमोजिम थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।