धरान: धरान उपमहानगरपालिकामा आज थप १४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये एक जना उपमहानगरपालिकाका कर्मचारी पनि छन् ।
उपमहानगरको स्टोरमा काम गर्ने एक पुरुष कर्मचारीलाई संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका कर्मचारीलाई अलग्गै होटल क्वारेन्टिनमा राखिएको छ । पछिल्लो समय कोरोनाको दोस्रो लहर शुरु भएसँगै धरानमा पनि संक्रमणको दर बढ्दै गइरहेको छ । छिमेकी मुलुक भारत नै कोरोना महामारीको चपेटामा परिसकेको छ भने नेपालमा पनि संक्रमण र मृत्यु दर बढ्दो छ । यस्तो बेला सबैले सचेत रहदै सकेसम्म घरबाहिर ननिस्कन र अत्यावश्यक काम हुँदा मात्र जनस्वास्थ्यको मापदण्ड पालना गरेर मात्र निस्कन स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले आग्रह गरेका छन् ।