धरान: बाटो बनाउने ठेकेदारले कसैलाई जानकारीसमेत नदिई सेउती खोलाबाट नदीजन्य पदार्थ उत्खनन् गरेपछि बुधबार दिउँसो धरान वडा नं ४ का स्ष्नयिय युवाहरुले स्काभेटर र ट्रिपर नियन्त्रणमा लिएका छन् । 

धरान वडा नं ४ र १५ लाई जोड्न हाल पक्की पुल निर्माणाधिन रहेको सेउती खोला उत्तरतर्फ स्काभेटरले उत्खनन् गरिरहेको थियो भने ट्रिपरले मिक्स गिट्टी ओसारिरहेको थियो । वडाका जनप्रतिनिधिलाई समेत जानकारी नलिई खोला उत्खनन् गरेको कारण चाबी खोसेर स्काभेटर र ट्रिपर नियन्त्रणमा लिइएको स्थानीय युवा शेखर लिम्बुले बताए । उनले भने, 'खोलाबाट मिक्सगिटी झिकेर बाटो बनाउने ठाउँमा हाल्दै रहेछ । कसैलाई जानकारी नदिई खोला खनिरहेकोले हामीले चाबी खोस्यौं ।'

triper

ठेकेदारलाई बाटो बनाउनको लागि ठेक्का लगाउदा नै आवश्यक सामग्री खरिदको लागि बजेट छुट्याइएको हुन्छ । तर, खोलाबाट नदीजन्य पदार्थ झिकेर प्रयोग गर्दा खरिद गर्नु नपर्ने हुँदा पैसा जोगिने भएकोले ठेकेदारले कसैलाई थाहै नदिई सेउतीबाट मिक्सगिटी झिकेको लिम्बुको भनाई छ । 

वडा नं ४ का सदस्य धनबहादुर कुलुङका अनुसार साँझ युवाहरुले गाडीको चाबी ठेकेदारलाई बुझाएका छन् । उनले ठेकेदारले जानकारी नदिई खोलाबाट सामग्री झिकेपनि राम्रो कामकै लागि गरेको प्रतिक्रिया दिए । अहिले खोलाको बीचमा थुप्रिएको गिट्टीढुंगा नझिकेमा अब बर्षामा बाढी आउदा दुवै किनारको बस्तीलाई जोखिम हुने उनले बताए । ‘खोलाको बीचमा च्यानलिङ नगरी हुदैन, नत्र बर्षामा बाढी बस्तीमा पस्छ,’उनले भने,‘धरान हर्दिया बाटोमा सब बेस बनाउन मिक्सगिटी चाहिएको रहेछ । त्यसैले पुल र बाटोको ठेकेदार मिलेर झिकेछन्, तर हामी कसैलाई जानकारी चाहि थिएन । राम्रो उद्देश्यकै लागि काम भएको हो । भाईहरुले पछि चाबी बुझाईसके ।’