पाँचथर: बम जस्तो देखिने शंकास्पद बस्तु राखेर सर्वसाधारणलाई त्रसित बनाएको आरोपमा नेकपा बिद्रोही समुहका एक कार्यकर्ता हतियारसहित पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा पाँचथर जिल्ला फालेलुङ गाउँपालिका वडा नं.७ का ३७ बर्षीय कुबेर राई रहेका छन् । उनलाई एक थान अबैध भरुवा बन्दुक पार्टपूर्जा, तयारी अवस्थाको जिआई सकेट एक थान,  फ्लेक्जिवल तार ५ मिटर, अन्य विद्युतीय सामाग्रीहरू, बिभिन्न आकारका फलामका ९ थान टुक्राहरुसहित पक्राउ गरिएको पाँचथर प्रहरीले जनाएको छ । यस्तै, ५ वटा सिमकार्ड, चन्दा असुलीको रसिद प्याड २० थान, नेपाल कम्युनिष्ट पार्टी (विद्रोही समूह)को लेटर प्याडहरु, नगद नेपाली ५६ हजार ८ सय ६५,  भारतीय रुपैयाँ १ हजार १५० पनि उनको साथबाट वरामद भएको छ । 

pachth

पक्राउ परेका राईले बैशाख ७ र १५ गते क्रमशः पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नं.२ स्थित सप्तमी बजारमा एनसेल टावरको नजिक र सराङडाँडा जाने बाटो छेउमा शंकास्पद बस्तु राखेका थिए । सर्वसाधारणलाई त्रसित बनाउने उक्त कार्यक्रमा संलग्न राईलाई शुक्रबार पक्राउ गरिएको थियो । पत्राउ परेका राईले बैशाख १६ गते फालेलुङ गाउँपालिका वडा नं. ८ स्थित आकाशे भञ्ज्याङको सडक छेउमा पनि शंकास्पद वस्तु राखेको वयान दिएका थिए । उनको वयानको आधारमा उक्त वस्तु नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले शनिबार नष्ट गरेको थियो । उनको बारेमा थप अनुसन्धान भइरहेको पाँचथर प्रहरीले जनाएको छ । 

pachta