धरान: नगरको सौन्दर्य कुरुप बनाउने गरि धरानको भानुचौक आसपास विजुलीको पोलमा अस्तब्यस्त रहेको तारहरुलाई व्यवस्थित गर्ने कार्य शुरु भएको छ । 

निषेधाज्ञाको बीचमा एक समिति गठन गरि अव्यवस्थित तारहरुलाई आज आइतबारदेखि व्यवस्थित गर्न शुरु गरिएको हो । ढल्न लागेको एउटा पोल हटाउनुका साथै तारलाई व्यवस्थित गरिएको स्थानीय समाजसेवी रमेश राईले बताए । उनले काम शुरुवात भएपनि सोचेजस्तो भने हुन नसकेको बताए । उनले भने,'धरानको अस्तब्यस्त तारहरुलाई व्यवस्थित गर्ने अभियान हो । एउटाले अर्कोलाई देखाउने प्रवृत्ति रहेछ । आजदेखि शुरुवात गरेका छौं । एउटा पोल ढल्न लागेको थियो, हटायौं । तारहरु एक साइडको हटायौं ।'

bijuli-tar1

उनका अनुसार तारहरु काटेर नयाँ तरिकाले जानुपर्ने भनिए पनि केवल सञ्चालकहरुले हामी आफै मिलाउछौं भनेका थिए । 'आज एउटा पोलको मात्र व्यवस्थित गरियो, फेरि गछौं,'राईले भने । तारहरु व्यवस्थित गर्न गठित समितिका संयोजक एवं विद्युत प्राधिकरणको धरान वितरण केन्द्रका प्रमुख प्रताप वरालले आज थोरै मात्र काम हुन सकेको बताए ।

बाँकी काम निषेधाज्ञा खुलेपनि हुने पनि उनको भनाई छ । 'एउटा पोलको मात्र काम भयो । केबुलवालहरु पनि सबै आएनन् । अब निषेधाज्ञा पछि काम हुन्छ,'वरालले भने,' केवलवालाहरुलाई तपाईहहको तार हटाइदिनुस् भनेर अनुरोध गरिएको हो । के गर्ने, कसरी गर्ने भनेर बसेर कुरा गर्नुपर्छ ।'