धरान :लिम्बुवान समूहका ५३ जना सदस्यहरु राष्ट्रिय जनमुक्ति पार्टीमा समायोजन भएका छन् । 

धरान १२ स्थित होटल पूर्वी स्टारमा पत्रकार सम्मेलन गर्दै लिम्बुवान समुह जनमुक्ति पार्टीमा समायोजना भएको घोषणा गरिएको थियो । समायोजन घोषणा कार्यक्रममा लिम्बुवान समूहको नेतृत्व संघीय लिम्बूवान पार्टीका केन्द्रिय सचिव गजेन्द्र आङबुहाङले गरेका थिए । उनी र राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रिय अध्यक्ष केपी पालुङ्वाले समायोजन पत्रमा हस्ताक्षर गरेर एक आपसमा हस्तान्तरण गरेका थिए ।

जनमुक्ति पार्टीको जनमूक्ति विचारधारा र बहुजातीय लोकतान्त्रिक समाजबादको अवधारणासँग आफुहरुको नीति पनि मिल्न गएकोले समायोजन भएको लिम्बुवान समुहका आङ्बुहाङले बताए । एउटा ठूलो शक्ति निर्माण गर्न आफुहरु समायोजन भएको उनको भनाई छ । जनमुक्तिका अध्यक्ष पालुङ्वाले नेपालमा बहुजातीय लोकतान्त्रिक समाजवादको पक्षमा लड्ने एक मात्र पार्टी राष्ट्रिय जनमुक्ति पार्टी भएको दाबी गरे । उनले बहुजातीय लोकतन्त्रको पक्षमा संर्घषरत सम्पूर्ण शक्तिलाई एकजुट गराएर अघि बढ्ने पनि पालुङ्वाले प्रतिवद्धता व्यक्त गरे । जनमुक्ति पार्टीका केन्द्रिय सचिव विष्णु थाङ्गदेनले लिम्बूवान समूहका ताप्लेजुङ्ग, झापा, ईलाम, तेह्रथुम , मोरङ्ग र सुनसरीका ५३ जना रहेको जानकारी दिए । 
jana