धरान: धरानमा खानेपानीको उत्पादन वृद्धि गर्न सर्दु खोलाको मुहानमा मर्मत कार्य शुरु भएको छ । 

खानेपानीको चरम अभाव भोगी रहेको धरानबासीहरुलाई सहज एवं पर्याप्तरुपमा खानेपानी वितरण गर्नको लागि खानेपानी व्यवस्थापन बोर्डले पानीको स्रोत बढाउन सर्दुको मुहान मर्मत शुरु गरेको हो । मुहान मर्मत भइरहेको क्षेत्रमा आइतबार बोर्डका अध्यक्षसमेत रहेका मेयर तिलक राईले स्थलगत अनुगमन गरेका थिए । मेयर राईले समयमै काम सम्पन्न गर्न निर्देशनसमेत दिए । स्थलगत निरीक्षण गर्दा काम अहिलेसम्म सन्तोषजनकरुपमा भइरहेको पनि बताए । 

sardu-muhan1

बोर्डका निर्देशक राजु पोखरेलका अनुसार हाल मुहान मर्मतको कार्य ३० प्रतिशत भन्दा बढी भइसकेको छ । एक साताभित्र काम सम्पन्न हुने उनले बताए । मर्मत कार्यले बर्खामा सर्दुको पानी फोहोर तथा धमिलो आउने समस्या पनि समाधान हुनेछ । सफा पानी आउने तिर एउटा ट्यांकी निर्माण गरिनेछ । त्यहाँबाट पाईपलाईन जडान गरेर इनटेकसम्म पानी ल्याउनको लागि काम शुरु भइसकेको पनि पोखरेलले बताए । अहिलेसम्म सर्दुको मुहान क्षेत्रमा पाईपलाईन पुगिसकेको छ । उनले भने,‘बर्खामा फोहोर पानी आउने समस्याबाट धेरै हदसम्म पार पाईन्छ ।’ 

कामदारहरुले सर्दुको मुहान क्षेत्रमै बसेर मर्मत कार्य गरिरहेका छन् । पाईपलाईनको कामसँगै खोलाको छेउछेउमा ग्याबिनहरु राखेर मेशिनरी वालहरु पनि बनाईनेछ । खानेपानीलाई नियन्त्रण गर्नका लागि सर्दु खोलामा संरक्षण कार्य गर्नुपर्ने हुन्छ । सर्दुमा धेरै बाढी आएको बेलामा खानेपानी फिल्टर गर्न सकिदैन । सात सय टिएसएस भन्दा बढी फिल्टर गर्न नसकिने बोर्डको भनाई छ ।