धरान: कोभिड १९ को दोस्रो लहरसँगै समुदायस्तरमा कोरोना संक्रमण फैलिन थालेपछि धरान उपमहानगरपालिकाले अत्यावश्यक बाहेकका अन्य सबै सेवाहरु बन्द गर्ने निर्णय गरेको छ । 

मंगलबार नगर कार्यपालिकाको बैठक बसेर कोरोना भाइरस जोखिम न्युनीकरण तथा रोकथामको लागि उपमहानगरपालिका कार्यालय र मातहतको कार्यालयहरुमा अत्यावश्यक सेवा मात्र प्रवाह गर्ने निर्णय गरेको हो । कार्यपालिका बैठकले बैशाख २२ गते बुधबारदेखि ३१ गते शुक्रबार ९ दिनसम्म अत्यावश्यक बाहेकका सेवाहरु बन्द गर्ने निर्णय गरेको हो ।

अत्यावश्यक अन्तर्गतको स्वास्थ्य सेवामा कोरोना व्यवस्थापन सेवा सुचारु हुनेछ भने सरसफाई सेवा, वारुणयन्त्र सेवा र खानेपानी वितरण सेवा मात्र प्रवाह हुनेछ । धरानमा पनि कोभिड १९ को दोस्रो लहर आएसँगै संक्रमितको संख्या ३ सयको हाराहारीमा पुग्न लागेको छ भने २ जना संक्रमितको मृत्यु भइसकेको छ । 

notice