धरान: धरान उपमहानगरपालिकाका मेयर तिलक राईको नेतृत्वमा राजनीतिक दलहरुले वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिड १९ अस्पतालको सेवा तथा पुर्वतयारीबारे आवश्यक जानकारी लिएका छन् ।

धरानमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि मेयर राईको पहलमा सर्वदलीय टोलीले कोभिड अस्पतालले दिइरहेको सेवा र गर्नुपर्ने सुधारको बारेमा छलफल गरेको हो । मेयर राईका अनुसार प्रतिष्ठानको कोभिड अस्पतालको अवस्था र तयारीबारे पदाधिकारीसँग सोधिएको थियो । विभिन्न पालिकाका प्रमुख र सर्वसाधारणहरुले पनि प्रतिष्ठानको कोभिड अस्पतालको सेवाप्रति आशंकाहरु व्यक्त गरिरहेको बारेमा पनि पदाधिकारीहरुको ध्यानाकर्षण गराइएको मेयर राईले बताए । 

‘कोभिड अस्पतालको के छ अवस्था ? तयारी कुन हदसम्म भइरहेको छ ? भनेर सोध्यौं,’मेयर राईले भने,‘मान्छेले वीपीप्रति आशंका गरिरहेका छन् । वीपीमा किन आउने ?भनेर किन भनिरहेका छन् भनेर जिज्ञासा राख्यौं ।’ पदाधिकारीहरुले वीपीलाई धेरै दबाब छ तर मान्छेले जुनरुपमा हेरिरहेका हेरिरहेका छन्, त्यस्तो नभएको भनि जवाफ दिएको मेयर राईले बताए । ‘दबाब छ तर जुनरुपमा वीपीलाई मान्छेले हेर्छन्, त्यस्तो चै छैन । हामी तयारी छौं, चुनौती पनि छ,’पदाधिकारीहरुको भनाई उदृत गर्दै मेयर राईले भने ।

bp-mayor

पदाधिकारीहरुले गत बर्षको भन्दा अहिले धेरै अनुभव हासिल भइसकेको र तयारी अवस्थामा रहेको बताएका थिए । ६५, ७० प्रतिशत बेडमा अक्सिजन जडान गरिसकेको, आइसियु र एचडियु तयारी अवस्था रहेको पदाधिकारीहरुले जानकारी दिएको मेयर राईले बताए । ‘पोहोरका भन्दा अनुभवी भएका छौं, धेरै सजग छौं भने । पोहोर तयारी थिएन, अनुभव थिएन । जनशक्ति पनि थिएन,’मेयर राईले भने,‘अहिले जनशक्ति तयार छन् । अनुभव र पुर्वतयारी छ तर पनि वीपीमा प्रदेश १ भरिकै विरामीहरुको लोड छ । कोभिड हुनुबित्तिकै वीपी पठाइदिन्छन्, र अनावश्यक दबाब भइरहेको छ भनेर पदाधिकारीहरुले आफ्नो समस्या राखे ।’ अक्सिजन प्लान्टको बिषयमा पदाधिकारीहरुले सय बेड निरन्तर चलाउनु पर्दा अभाव हुनसक्ने पनि बताएका थिए । 

पदाधिकारीहरुले जहाँ जहाँ अस्पताल छ, त्यहाँ पनि विरामीको लोड लिने हो भने सबै अस्पताललाई सहज हुने धारणा राखेका थिए । वीपी प्रतिष्ठानले कोभिड र नन कोभिड उपचार पनि गर्नुपर्ने हुँदा थप दबाब हुने उनीहरुको भनाई थियो । विरामी लोड हुन नदिन सामाजिक विकास मन्त्रालयले स्थानीय सरकार र प्रतिष्ठानसँग समन्वय गरेर कोभिड विरामीहरुलाई मन्त्रालयले नै समानुपातिकरुपमा कुन अस्पतालमा पठाउने भनेर निर्णय लिनुपर्ने पदाधिकारीहरुको भनाई रहेको पनि मेयर राईले बताए ।

‘कोभिड आएजति सबै यहाँ पठाउदा समस्या हुन्छ । सिमित स्रोत साधनमा चल्न हामीलाई पनि गाह्रो छ, हामीसँग जति छ गछौं, तर सहयोग चाहिन्छ,’पदाधिकारीको भनाई उदृत गर्दै मेयर राईले भने,‘वीपी आवासिय प्रतिष्ठान हो । यहाँ हजारौं विद्यार्थी, शिक्षक, कर्मचारी छन्, उनीहरुलाई हेर्नुपर्ने कर्तव्य पनि छ । यहाँ धेरै खालको समस्या छ, बिशेष सहयोग आवश्यक चाहिन्छ । स्ष्नयिय सरकार र हाम्रो टिम बनाएर काम गरौं भने ।’ उक्त छलफलमा ईलाका प्रशासन कार्यालय धरानका प्रमुख, राजनीतिक दलका प्रतिनिधिहरु, जनप्रतिनिधि, प्रतिष्ठानका उपकुलपति, अस्पताल निर्देशक र रेक्टरको उपस्थिति रहेको थियो ।