धरान: प्रदेश १ मन्त्रीपरिषद बैठकले कोभिड १९ को विरामी ओसारपसार, शव व्यवस्थापन, सरसफाईदेखि उपचारमा प्रदेश सरकारद्धारा खटाएका कर्मचारीको कोभिड १९ बाट मृत्यु भएमा क्षतिपूर्ति स्वरुप २५ लाख दिने निर्णय गरेको छ । 

आज बसेको मन्त्रीपरिषद बैठकले कोभिड १९ को पहिचान, निदान, उपचार, विरामी ओसारपासर र शव व्यवस्थापनमा प्रत्यक्षरुपमा संलग्न भएका चिकित्सक, स्वास्थ्यकर्मी, चालक, सफाईकर्मी साथै कर्मचारीको संक्रमणबाट मृत्यु भए उनको परिवारलाई क्षतिपूर्ति स्वरुप नेपाल सरकारले प्रदान गर्ने क्षतिपूर्ति रकमसँग दोहोरो नहुने गरी प्रदेश सरकारबाट पनि एकमुष्ट २५ लाख प्रदान गर्ने निर्णय गरेको हो । 

मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीका अनुसार कोभिड उपचारमा प्रदेश सरकारद्धारा सञ्चालित कोशी अस्पताल, कोभिड १९ उपचार केन्द्र विराटनगर, प्रदेश जनस्वास्थ्य प्रयोगशाा विराटनगर तथा प्रदेश सरकार मातहतका सम्पुर्ण अस्पतालको कोभिड वार्डमा प्रत्यक्ष खटिने चिकित्सक, स्वास्थ्यकर्मी, चालक, सफाईकर्मी साथै कर्मचारीहरुलाई शुरु तलब स्केलको ५० प्रतिशत जोखिम भत्ता प्रदान गर्ने पनि निर्णय भएको छ । 

यस्तै, कोभिडको उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, चालक, सफाईकर्मी तथा कर्मचारी संक्रमित भई विरामी भएमा प्रदेश सरकारले तोकेको सरकारी तथा निजी अस्पतालमा उचार गर्दा लागेको सम्पुर्ण खर्च पनि सरकारले व्यवहोर्ने निर्णय बैठकले गरेको छ । होम आइसोलेसनमा बस्न सक्ने अवस्था नभै घरबाहिर संस्थागत वा होटल आइसोलेसनमा बस्दा लागेको खर्च पनि प्रदेश सरकारले नै व्यहोर्ने निर्णय भएको छ । 

यसैगरि, प्रदेश सरकारद्धारा सञ्चालित कोशी अस्पताल, कोभिड १९ उपचार केन्द्रमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीको लागि होम क्वारेन्टिनमा बस्ने अवस्था नभई होटल क्वारेन्टिनमा बस्नुपर्ने भएमा तोकिए वमोजिमको होटलमा सरकारले प्रबन्ध गरेको खाना तथा खाजासहितको क्वारेन्टिन वा होटल क्वारेन्टिनको प्रबन्ध गर्ने पनि निर्णय भएको छ । क्षतिपूर्ति, उपचार, जोखिम भत्ता तथा क्वारेन्टिन वापतको खर्च सामाजिक विकास मन्त्रालयको विनियोजित बजेटबाट भुक्तानी गर्ने पनि बैठकले निर्णय गरेको छ ।