धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले कोभिडका विरामीहरुको उचित व्यवस्थापन तथा शव व्यवस्थापनको लागि दुई जना फोकल पर्सन (सम्पर्क व्यक्त) तोकिएका छन् । 

प्रतिष्ठानका अस्पताल निर्देशक डा.गौरीशंकर साहले फोकल पर्सनमा डा.विकास साह र डा.इन्द्र लिम्बुलाई जिम्मेवारी दिएका हुन् । डा.लिम्बु गत बर्ष कोभिड महामारीको पहिलो लहरको बेला पनि फोकल पर्सन थिए । डा.साह भने यसअघि प्रतिष्ठानका अस्पताल सहायक निर्देशक रहीसकेका चिकित्सक हुन् । दुवैलाई प्रतिष्ठानमा कोभिडका विरामीहरुको व्यवस्थापन, प्रदेश र स्थानीय सरकारहरुसँग समन्वय गर्ने र शव व्यवस्थापन गर्नेलगायत विभिन्न जिम्मेवारीसहित फोकल पर्सन तोकिएको प्रतिष्ठानका सह प्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए ।

डा. साहलाई प्रतिष्ठानमा आउने एवं भर्ना हुने कोभिड संक्रमित विरामीहरुको उचित व्यवस्थापन तथा अभिलेखहरु चुस्त दुरुस्त राख्ने जिम्मेवारी तोकिएको छ । यस्तै, उनलाई सरकारको निर्देशिका वमोजिम शव व्यवस्थानको पनि जिम्मेवारी दिइएको छ । 

यसैगरि, डा. लिम्बुलाई कोभिडका विरामीहरुको सम्बन्धमा प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र स्थानीय तहहरुसँग समन्वय गर्ने जिम्मेवारी दिइएको छ । साथै, प्रतिष्ठानमा ल्याउनुपर्ने कोभिड विरामीहरुको लागि अस्पताल वा स्थानीय तहहरुसँग आवश्यक समन्वय र व्यवस्थापनको जिम्मेवारी पनि डा.लिम्बुलाई तोकिएको छ ।