उदयपुर: उदयपुरको कटारी नगरपालिका ११ हर्देनी भीरमा टिकटक बनाउने क्रममा लडेर १ जनाको ज्यान गएको छ । 

धरानबाट ओखलढुङगा तर्फ जाँदै गरेको ना १ च ३३७० नम्बरको सुमो आज बिहान पौने १० बजे हर्देनी भीरस्थित सडकमा बिग्रिएको थियो । सुमो बिग्रिए पछि गाडीबाट ओर्लिएर टिकटक बनाउने क्रममा धरान ५ का १८ बर्षीय सुभाष परियार भीरबाट लडेर गम्भीर घाइते भएका थिए । घाइते परियारलाई उपचारको लागी कटारी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।घटनास्थलमा प्रहरी टोली खटिएर थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

 यसैगरि, ईलाम नगरपालिका ५ ओख्रेका ३२ बर्षीय मिलन अधिकारीको पनि रुखबाट लडेर मृत्यु भएको छ । आज बिहान ९ बजे घर नजिकै रहेको खनिउ जातको रुखमा चढेर घाँस झार्ने क्रममा उनी अचानक लडेका थिए । अधिकारीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । घटनाबारे थप अनुसन्धान पनि भइरहेको प्रहरीको भनाई छ ।