धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको कोभिड अस्पतालमा एक कोरोना संक्रमित पुरुषको जटिल किसिमको शल्यक्रिया भएको छ ।
कल्याणपुर, सिराहाका ४० बर्षीय पुरुषको आज विहान साढे २ बजे आकस्मिक शल्यक्रिया भएको प्रतिष्ठानले जनाएको छ । उक्त विरामीलाई पेट फुलेर ज्यादै दुख्नुका साथै जोरो, खोकी, वान्ता, स्वाश्प्रश्वासको समस्या देखा परेको थियो । उनलाई सिराहाको कर्जनास्थित फुलकुमारी महतो मेमोरियल अस्पतालमा उपचारको लागि भर्ना भएका थिए । सोही अस्पतालमा उनको पिसिआर पोजेटिभ रिपोर्ट आएपछि थप उपचारका लागि वीपी प्रतिष्ठानमा रिफर भई आएका थिए ।
कोभिड अस्पतालमा थप जाँच गर्दा सानो आन्द्रामा छिद्र देखा परेको र पेटमा संक्रमण फैलिएको पत्ता लागेको थियो । त्यसपछि, जेनेरल सर्जरी विभागका डाा. निर्मल प्रसाद शाहको नेतृत्वमा आकस्मिक शल्यक्रिया गर्ने निर्णय गरेर सफलतापुर्वक सम्पन्न भएको सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए । उनका अनुसार कोरोनाको दोस्रो लहर शुरु भएयता पुर्णरुपमा बेहोस पारर कोभिड अस्पतालमा रहेको अपरेशन थिएटरमा शल्यक्रिया भएको यो पहिलो हो ।
यो शल्यक्रियामा सर्जरी विभागका डा. विजय श्रेष्ठ, डा. संदिप खनाल, डा. सुनिल जैसवाल, डा. राजन सुवेदी तथा एनेस्थेसियाका डा. विशाल देव, डा. राजेश प्रजापती सहभागी थिए । यस्तै, नर्स सुरभी राई, मनिला मगर, हेल्पर सरोज कार्की पनि शल्यक्रियामा सहभागी थिए । कोभिड अस्पतालमा कोरोनाको पहिलो लहरको बेला पनि पोजेटिभ ५ जना विरामीहरुको शल्यक्रिया भएको थियो । सो शल्यक्रिया गाइने विभागका डाक्टरहरुबाट गरिएको थियो ।
डा. मनोज शाहको नेतृत्वमा दुई वटा, डा. दिप्ती दासको नेतृत्वमा दुई वटा तथा डा. दिपा शाहको नेतृत्वमा एउटा शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको थियो । यस्तै, डा. सुर्य प्रसाद रिमालको नेतृत्वमा दुई जना कोरोना पोजेटिभ महिलाको नर्मल डेलिभरी गरिएको प्रतिष्ठानले जनाएको छ ।