धरान: प्रदेश नं १ को मोरङ र ताप्लेजुङ जिल्लामा पानीमा डुबेर तथा ढुंगाले किचेर दुई बालकको ज्यान गएको छ ।
एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार मोरङको रंगेली नगरपालिका ९ बेदमारीमा इट्टा बनाउन खनेको माटोको खाल्डोमा जमेको पानीमा डुबेर आज बिहान एक बालकको मृत्यु भएको छ । बिहान पौने १० बजे देवी इट्टा उद्योगका काम गर्ने भारतीय मजदुर भुसननिया मियाँको १० बर्षीय छोरा अलिअर मियाँ खेल्ने क्रममा उक्त खाल्डोमा डुबेका थिए । गम्भीर घाइते अवस्थामा उनलाई उद्दार गरि रंगेली अस्पतालमा लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
यस्तै, ताप्लेजुङको मेरिङदेन गाउँपालिका २ सान्थाक्राका १३ बर्षीय फुर्वा शेर्पाको ढुंगाले किचेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। आज दिउँसो साढे २ बजे फूङलिङ नगरपालिका ७ स्थित सव बेश निर्माणको लागी मुवेन मिक्लाजुङ जेबि कन्ट्रक्सनद्वारा भीरको चट्टान फोर्ने क्रममा ढुंगा झरेर शेर्पाको मृत्यु भएको हो । मृतक शेर्पाको बुबा पासाङ छिरिङ शेर्पा सोही बाटोको साईडमा गिटी कुट्न ढुङ्गा ओसार्ने काम गर्ने गर्थे । उनी पनि बाबुसँग ढुङगा ओसार्ने क्रममा माथीबाट ढुङ्गा झरेर किचेको र घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।