धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा गए राती २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
प्रतिष्ठानका अनुसार मोरगको विराटनगर १४ र सुनसरीको कोशी गाउँपालिका १ का पुरुषको कोभिड अस्पतालमा मृत्यु भएको हो । दुवैको गए राती (सोमबार) ५ मिनेटका अन्तरमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए । उनका अनुसार अस्थमाका विरामी विराटनगर १४ का ४८ बर्षीय पुरुषको हिजो राती ९ बजे मृत्यु भएको हो । उनलाई हिजो सोमबार नै कोरोना संक्रमण पुष्टि भएर प्रतिष्ठानमा भर्ना भएका थिए ।
यस्तै, कोशी गाउँपालिका १ का ४३ बर्षीय पुरुषको पनि गए राती ९ बजेर ५ मिनेटमा मृत्यु भएको प्रतिष्ठानले जानकारी दिए । उनलाई बैशाख १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने प्रतिष्ठानमा १६ गते भर्ना गरिएको थियो । दुवैको शव नियम अनुसार व्यवस्थापन भइरहेको प्रतिष्ठानले जनाएको छ।