इटहरी: इटहरीमा प्रत्येक शैयामा अक्सिजन जडान भएको ५० बेडको आइसोलेसन सेन्टर संचालन गरिएको छ ।
इटहरी उपमहानगरले ६ बेडको कोभिड अस्पतालसहितको आइसोलेसन संचालनमा ल्याएको हो । इटहरीका प्रमुख द्धारिकलाल चौधरीले ३० बेड पुरुषका लागी र २० बेड महिलाका लागी छुटटा छुटटै ब्लकमा ब्यवस्था गरिएको आइसोलेसन संचालनमा ल्याएको जानकारी दिए ।
बुधबार बेलुकादेखि कोभिड संक्रमित विरामी राखेर आइसोलेसन संचालनमा ल्याइएको उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिइन् । अक्सिजन नेवुलाइजरसहितको आइसोलेसनमा २४ घण्टै स्वास्थ्यकर्मी बस्ने पनि उनले बताइन् । स्वास्थ्य मन्त्रालयले तयार पारेको मापदण्ड वमोजिमको गुणस्तरीय खानाको ब्यवस्था गरिएको प्रमुख प्रशासकीय अघिकृत सूर्य प्रसाद सुवेदीले बताए ।
इटहरी अस्पतालका मेडिकल सुपरिटेन्डेट डा. योगेश चेम्जोडले आइसोलेसन ब्यवस्थित रहेको दावी गरे । उनले माइल्ड कोभिडका विरामीलाई राखेर अक्सिजन नेवुलाइजरको सेवा समेत प्राप्त हुने बताए । विरामीको स्वास्थ्य अवस्था गम्भीर वन्दै गएमा स्वास्थ्यकर्मी सहित स्टेण्डवाइ रहने एम्वुलेन्स मार्फत अन्य अस्पताल पठाइने पनि उनले बताए । इटहरी ९ रंगशालामा गत बर्ष पनि आइसोलेसन संचालन गरिएको थियो । आइसोलेसनमा स्नानगृह, शौचालय, खानेपानी, वाइफाइ समेतको सुविधा छ । आइसोलेसनको सुरक्षा नेपाली सेनाले दिने छ ।