धरान: अक्सिजन अभावले राजधानीसहित देशका विभिन्न अस्पतालहरुमा कोरोना संक्रमितले अकालमा ज्यान गुमाउनु परेपछि सुनसरीबाट अक्सिजन आपूर्ति हुन थालेको छ ।
सुनसरीमा रहेका विभिन्न ३ वटा उद्योगहरुबाट अक्सिजन भरेर राजधानीसहित विभिन्न जिल्लाहरुमा पठाउने कार्य भइरहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । उनका अनुसार गृह मन्त्रालयको समन्वयमा नेपाली सेनाको स्काई ट्रकमार्फत ३ दिनदेखि सुनसरीका उद्योगहरुबाट अक्सिजन भरेर आपूर्ति भइरहेको छ । एयर लिफ्ट गरेर अस्ति र हिजो काठमाण्डौं अक्सिजन पठायौं, यहाँबाट सिलिण्डर पठाउने होइन, ल्याएको सिलिण्डरमा भरेर पठाउने गरिएको हो, प्रजिअ ढकालले भने, हामीलाई प्रदेशमा आवश्यक पर्ने अक्सिजन छुट्याएर मात्रै पठाउने गरिएको छ ।
आज (शनिबार) पनि एयर लिफ्टमार्फत भैरहवामा ३ पटक अक्सिजन पठाइने उनले बताए । स्थलमार्फतबाट पश्चिमका थुप्रै जिल्लामा अक्सिजन सिलिण्डर रिफिर गरेर पठाइएको पनि प्रजिअ ढकालले जानकारी दिए । प्रदेश १ मा पनि विभिन्न जिल्लाका अस्पतलामा आवश्यक पर्ने अक्सिजन आपूर्ति भइरहेको उनको भनाई छ । उद्योगहरुलाई चौबिसै घण्टा जसो प्लान्ट चलाउन लगाएर अक्सिजन उत्पादन बढाउन लगाइएको पनि प्रजिअ ढकालले जानकारी दिए ।
प्रदेश नं १ मा ५ वटा अक्सिजन उत्पादन उद्योग रहेको र ती मध्ये ३ वटा उद्योग सुनसरी जिल्लामा नै रहेको छ । इटहरीमा २ वटा उद्योग छ भने दुहबीमा एउटा रहेको छ । इटहरीस्थित दुर्गा अक्सिजन उद्योगका प्रोपाइटर आशिष मित्तल अक्सिजन उत्पादन पर्याप्त भएपनि सिलिण्डरको समस्या भएको बताउँछन् । उनका अनुसार माग कम भएपछि उद्योगको क्षमताको मात्र ४०, ४५ प्रतिशत अक्सिजन प्लान्ट चलेको थियो । अक्सिजन खपत भएमा क्षमता अनुसार नै उत्पादन हुने उनले बताए ।