खोटाङ: खोटाङको हलेसी तुवाचुङ नगरपालिका ११ राजापानीबाट भरुवा बन्दुक र भरुवा बन्दुक बनाउन प्रयोग गरिने अन्य सामाग्री सहित ४ जनालाई पक्राउ गरिएको छ। 

पक्राउ पर्नेमा स्थानीय ४२ बर्षीय डम्बर बहादुर कार्की, ३५ बर्षीय दोर्ण कार्की, २६ बर्षीय रबिन्द्र कार्की र ७४ बर्षीय कृष्ण बिक रहेका छन् । गत राती १० बजे बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी निरीक्षकसहितको टोली खटिएको थियो । उक्त टोलीले डम्बर, दोर्ण र रबिन्द्रलाई भरुवा बन्दुक ३ थानसहित नियन्त्रणमा लिएको थियो ।

उनीहरुको साथबाट मरेको मृगको टाउको, सालकको खपेटा र भरुवा बन्दुकमा प्रयोग हुने सलाई, सोडा, गन्धक, छर्रा लगाएतका पदार्थहरु पनि वरामद भएको प्रहरीले जनाएको छ । यस्तै, कृष्णलाई भने भरुवा बन्दुकको नाल ५ थान, भरुवा बन्दुकको बट १ थगानलगायत भरुवा बन्दुक बनाउन प्रयोग हुने औजारहरु सहित नियन्त्रणमा लिएको प्रहरीको भनाई छ। पक्राउ परेका ४ जनाबारे जिल्ला प्रहरी कार्यालय खोटाङबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।