धरान: सुनसरीको दुहबीस्थित फरवर्ड माइक्रोफाइनान्स लघुबित्तले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई ५० थान अक्सिजन सिलिण्डर सहयोग गरेको छ । 

नेकपा एमाले नेतृसमेत रहेकी फरवर्डकी अध्यक्ष भगवती चौधरीले ठुलो साइजको ५० थान सिलिण्डर आज प्रतिष्ठानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीलाई हस्तान्तरण गरेकी छिन् । उनले संस्थाको सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा प्रतिष्ठानलाई सिलिण्डर सहयोग गरेको बताइन् । कोभिड महामारीको बेला अक्सिजन नपाएर धेरै जना मृत्यु भइरहेको कारण संस्थानले सहयोग गरेको उनको भनाई छ । प्रतिष्ठानको आफ्नै अक्सिजन प्लान्ट भएपनि यहाँ उपचारमा धेरै विरामीहरु आउने र उनीहरुले उचित सेवा पाउन् भन्ने उद्देश्यले अक्सिजन सिलिण्डर उपलब्ध गराएको चौधरीको भनाई छ ।

forward1

उनका अनुसार विराट मेडिकल शिक्षण अस्पताललाई पनि संस्थाले २ वटा अक्सिजन मनिटर गर्ने मेशिन उपलब्ध गराउने भएको छ भने कोशी अस्पतालले पनि २, ३ सय सिलिण्डर माग गरेको तर बजारमा सिलिण्डर तत्काल उपलब्ध नभएको उनले बताइन् । ‘पश्चिममा पनि आवश्यक स्वास्थ्य सामग्रीहरु वितरण गर्ने तयारी भइरहेको छ । ५० लाख जतिको सामग्रीहरु के कति हुन्छ, सामाजिक उत्तरदायित्व फण्डबाट गछौं,’उनले भनिन् । 

प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर साहले सहयोगको लागि आभार प्रकट गर्दै सबै अक्सिजन सिलिण्डर कोभिड १९ अस्पतालमा प्रयोग गर्ने बताए । उनले भने,‘हामीसँग प्लान्ट पनि छ । अक्सिजन कमी हुन दिदैनौं । १०० बेड अस्पतालमा अपुग नहोस् भनेर सबै उपायहरु अपनाएका छौं ।’