विराटनगरः विराट मेडिकल कलेज शिक्षण अस्पतालको इर्मजेन्सीमा कार्यरत चिकित्सकमाथि गए राती आक्रमण भएको छ ।
आफन्त उपचारको लागि लिएर आएका केही व्यक्तिहरुले अस्पतालको गार्डले दुव्र्यवहार गरेको बिषय बढ्दै गएपछि चिकित्सकमाथि नै आक्रमण गरेका थिए । आकस्मिक कक्षमा कार्यतर डा.सुदिप रेग्मी र हेल्थ असिस्टेन्ट निर्दोष बस्नेतमाथि विरामीका आफन्तजनहरु जाइलागेका थिए । दुवैको टाउको, अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको छ। केहीबेर आकस्मिक कक्ष तनावग्रस्त बनेको थियो ।
आक्रमण गर्ने बुढीगंगा गाउँपालिका२ का निश्चल श्रेष्ठ र अनिश श्रेष्ठलाई प्रहरी पक्राउ गरेको जनाएको छ । आक्रमण गर्ने समुहले ७३ वर्षीया गोमादेवी श्रेष्ठलाई उपचारको लागि अस्पताल आकस्मिक कक्ष ल्याएका थिए । उनको चाडो उपचार गर्नुपर्ने माग गरिरहेका आफन्तजनसँग गार्डको विवाद भएको थियो । सोही विवाद बढ्दै गएर चिकित्सकमाथि नै आक्रमण हुनपुगेको हो । घटनामा दुई स्वास्थ्यकर्मीसहित ३ जना घाइते भएको बताइएको छ । मोरङ प्रहरीले घटनामा संलग्न २ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ । मोरङका एसपी सन्तोष खड्काका अनुसार अस्पताल प्रशासनसँग सिसी टिभी फुटेज मगाएर घटनाको विस्तृत अनुसन्धान भइरहेको छ ।
चिकित्सकहरुले भने दुर्घटनाका गम्भीर घाइते भएकाको उपचारमा आफुहरु संलग्न भएको बेला वृद्धालाई लिएर आएकाहरुले चाडो उपचार हुनुपर्छ भन्दै विवाद झिकेको बताएका छन् । यता वृद्धाको आफन्तजनले भने चाडो उपचार हुनुपर्ने माग गर्दा गार्डले दुव्र्यवहार गरेको र पछि चिकित्सकले पनि रुखो व्यवहार गरेको आरोप लगाएका छन् । अस्पतालले चिकित्सकमाथि आक्रमण गर्नेलाई कडा कारबाहीको माग गरेको छ ।