धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मोरङका दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा एक जना पुरुष र एक जना महिला छिन् । प्रतिष्ठानका अनुसार सुन्दर हरैचा १० का ७२ बर्षीय पुरुषको हिजो मंगलबार साँझ ५ बजेर ५० मिनेटमा कोभिड अस्पतालमा मृत्यु भएको हो । उच्च रक्तचापको विरामी रहेका उनलाई बैशाख १० गते संक्रमण पुष्टि भएको थियो भने बैशाख ११ गतेदेखि कोभिड अस्पतालमा भर्ना भएर उपचार भइरहेको थियो ।
यस्तै, बेलबारी ९ की ५६ बर्षीया महिलाको पनि हिजो साँझ साढे ६ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए । मधुमेहको समेत विरामी रहेकी उनलाई जेठ २ गते संक्रमण पुष्टि भएको थियो भने ३ गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो । दुवैको शव नियम अनुसार व्यवस्थापन भइरहेको प्रतिष्ठानले जनाएको छ ।