विराटनगर: जिल्ला प्रहरी कार्यालय पाँचथरमा कार्यरत प्रहरी निरीक्षक डम्वर विश्वकर्मा बैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी (बेष्ट पुलिस अफ दि मन्थ) घोषित भएका छन् ।

अपराध अनुसन्धानको क्षेत्रमा बिशेष योगदान पुर्याएको साथै विभिन्न हातहतियारसहित व्यक्तिहरुलाई पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याएको भन्दै उनलाई प्रदेश प्रहरी कार्यालयले बैशाखको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको हो । आफ्ना मातहतका  प्रहरीहरुको मनोवल उच्च बनाउन तथा कार्यहरुको उचित मूल्याङकन गर्न १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रदेश भरीका प्रहरीहरु मध्ये हरेक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।

सर्वोत्कृष्ट हुने प्रहरीलाई पुरस्कृत गरेर उत्कृष्ट कार्यको बिवरणसहित फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भमा राखिने गरिएको छ भने प्रदेश १ का इलाका प्रहरी कार्यालय  ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिनासम्म राखिदै आईएको छ ।