धरान: धरान १० पुतलीलाईनस्थित विजयपुर हस्पिटलमा २० बेडको कोभिड अस्पताल सञ्चालनमा आउने भएको छ । 

अहिले कोभिड अस्पताल तयारी अन्तिम चरणमा पुगेको हस्पिटल प्रशासनले जनाएको छ । देशभरका प्रत्येक अस्पतालहरुलाई २० बेडको कोभिड अस्पताल बनाउन नेपाल सरकारको निर्देशन दिएको थियो । सोही वमोजिम विजयपुर हस्पिटलमा २० बेडको कोभिड अस्पताल सञ्चालनमा ल्याउने तयारी गरेको धरान उपमहानगरका स्वास्थ्य महशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनका अनुसार उपमहानगरपालिकाले सामाजिक विकास मन्त्रालयमा सहयोग तथा समन्वय गर्नेछ । 


यसबिषयमा धरान उपमहानगरपालिका र विजयपुर हस्पिटलबिच पटक पटक अनौपचारिक छलफल भएको थियो । हिजो मङ्गलबार भने २० बेडको कोभिड आईसोलेसन कक्ष सञ्चालनमा ल्याउनेबारे लिखितरुपमै निर्णय भएको मेहताले जानकारी दिए । विजयपुर हस्पिटलका अस्पताल निर्देशक प्रभाव खतिवडाले विहीबारदेखि २० बेडको कोभिड अस्पताल सञ्चालनमा आउने बताए । ‘अहिले धमाधम काम भईरहेको छ, कोरोना संक्रमित विरामीहरु पनि स्टेण्ड बाई अवस्थामा छन्, भोलीबाट सञ्चालनमा आउछ,’उनले भने ।