धरान: कोरोना संक्रमण बढ्दै गएपछि धरानको वडा नं १३ लाई एक साताको लागि सिल गर्ने निर्णय गरिएको छ ।
वडामा रहेका सुरक्षा अधिकारीहरुसँग परामर्श लिएर भोली आइतबारदेखि जेठ १५ गतेसम्मको लागि वडालाई सिल गर्ने निर्णय गरिएको वडाअध्यक्ष नेत्र काफ्ले जानकारी दिए । उनका अनुसार ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतसँग पनि समन्वय गरेर थप सुरक्षाकर्मी परिचालन गर्नेबारे कुरा भएको छ । ‘दिनुहँ परिक्षण गरेजति नै संक्रमित थपिएको थपिएै छ, एकै घरमा ४ जना पनि संक्रमित छन्,’अध्यक्ष काफ्लेले भने,‘कडाई गर्नै पर्ने देखियो, र सिल गर्ने निर्णय गरियो ।’
वडा १ सँगको सिमाना रहेको पृथ्वी चोक उत्तर, निसाने, फुस्रेस्थित आशो पार्कदेखि झोलुङ्गे पुल हुँदै सुम्निमा चोकसम्म चारकिल्ला कायम गरेर सिल गर्ने निर्णय भएको उनले बताए । अनावश्यक हिडडुल गर्नेलाई नियन्त्रणमा लिइने अध्यक्ष काफ्लेले जानकारी दिए ।
होम आइसोलेसनमा बसेकाहरु पनि प्रोटोकल पालना नगरेकोमा अध्यक्ष काफ्लेले चिन्ता व्यक्त गरे । उनले भने,‘होम आइसोलेसनमा बसेकाहरु पनि बाहिरै निस्कने, परिवारसँगै बसिदिने, खानपिन गर्ने गरेको पाइयो । एकदमै लापरवाही भएको छ ।’ अध्यक्ष काफ्लेका अनुसार वडा १३ मा मात्र दोस्रो लहरमा ५० जनाको हाराहारीमा संक्रमित पुगिसकेका छन् ।