इटहरी: दुग्ध क्षेत्रमा नेपालमै अग्रणी रहेको इटहरी २० स्थित कामधेनु दुग्ध बिकास शहकारी संस्थाले इटहरीको आइसोलेसनलाई ३ महिनाका लागि दुध तथा दुधजन्य पदार्थ निःशुल्क प्रदान गर्ने भएको छ । 

इटहरीमा उद्योग बाणिज्य संघको नेतृत्वमा मारवाडी सेवा समिति इटहरी, श्री कृष्ण प्रणामी मन्दिर, नेपाल प्रेस युनियन सुनसरी, नेपाल युवा उद्यम मन्चको सहकार्यमा सन्चालन हुन लागेको आइसोलेसनको लागि कामधेनुले दुध तथा दुधजन्य पदार्थ निःशुल्क दिने भएको हो । सोमबार संस्थाका निमित्त व्यवस्थाप निर्देशक पर्शुराम कार्की(मनोज) सहितको टोलीले कोभिड ब्यावस्थापन समितिका सदस्य एबम प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीसहितका पदाधिकारीसँग प्रतिबद्धता पत्रसहित सम्झौता गरेका थिए । 

कामधेनुका कार्किले सामाजिक उत्तरदायित्व अन्तर्गत आइसोलेसनलाई सहयोग गर्न पाउँदा आफुहरु अत्यन्तै खुसी रहेको जनाए । इटहरीमा रहेको तमोर डेरी उद्योगले पनि आइसोलेसनलाई पहिलो एक महिनाका लागि दूध तथा दुग्धजन्य पदार्थ निःशुल्क प्रदान गर्ने भएको छ । आइसोलेसन सन्चालन तथा मुल व्यवस्थापन समिति संयोजक भीम पौडेलसँग उक्त डेरी उद्योगका अध्यक्ष प्रदिप अधिकारीले सम्झौता गरेका छन् ।

यो आइसोलेसन ४० बेड अक्सिजनसहित पहिलो चरणमा ८० बेडमा सन्चालन हुने तयारीमा छ । आइसोलेसन निर्माणको सम्पुर्ण तयारी सकिएको र सुरक्षा प्रबन्ध समेत भइसकेको संयोजक पौडेलले बताए। निःशुल्क बस्ने, खानेदेखि लिएर आइसोलेसनमा खेलकुदका सामग्रीहरु, फ्री ईन्टरनेट सेवासहित योगा गर्नेसम्मको प्रबन्ध मिलाउन लागेको मारवाडी सेवा समिति इटहरीका अध्यक्ष एवं मुल व्यवस्थापन समितिका सदस्य मुकेश अग्रवालले बताए ।