धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अक्सिजन प्लान्ट पुर्णरुपमा सञ्चालनमा आएको छ ।
गएको बिहिबारदेखि निरन्तर प्लान्ट मर्मत भएको र मर्मत कार्य पुरा भई पुर्ण क्षमतामा सञ्चालन भएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए । उनले भने,‘प्लान्टको मर्मत कार्य पुरा भएर पुर्णक्षमतामा सञ्चालनमा आइसकेको छ ।’ प्रतिष्ठानको प्लान्टबाट प्रतिमिनेट १६ सय लिटर अक्सिजन उत्पादन हुने गर्छ ।
गएको बुधबार साँझ प्लान्टको एक सेट जिओलाइट बिग्रिए पछि पुर्णक्षमतामा अक्सिजन उत्पादन हुन सकेको थिएन । अक्सिजन अभावले कोभिडका विरामीहरुलाई समस्या भएको भन्दै प्रतिष्ठानका पदाधिकारीहरुको चर्को आलोचना भएको थियो ।
कोभिड अस्पतालमा प्लान्टबाट पाइपलाइनमार्फत अक्सिजन सप्लाइ गरिएको छ भने विकल्पको रुपमा मेनिफोल्डमार्फत पनि अक्सिजन पुर्याउदै आएको प्रतिष्ठानले जनाएको छ । विरामीको अत्यधिक चाप र चौबिसै घण्टा प्लान्ट सञ्चालन हुँदा प्राविधिक समस्या आएको प्रतिष्ठानले जनाएको थियो ।