धरान: जिल्ला प्रशासन कार्यालय सुनसरीले एक साताको लागि निषेधाज्ञा थपेको छ ।
आज बसेको डिसिसिएमसि बैठकले जेठ २२ गतेसम्मको लागि निषेधाज्ञा थप गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी महेश पोखरेलले जानकारी दिए । उनका अनुसार एक साता अवधि थप गर्नेबोहक विगतमा भएको निर्णय खुकुलो बनाउने कुनै परिवर्तन गरिएको छैन । 'निषेधाज्ञा २२ गतेसम्म थपिएको छ, अरु कुनै त्यस्तो निर्णय भएको वा परिवर्तन गरिएको छैन । बजार, पसल, हिडडुल सबै प्रतिबन्ध नै हो, 'उनले भने ।
यसअघि जेठ १५ गते राती १२ बजेसम्मको लागि निषेधाज्ञा थपिएको थियो । उक्त समय भोली सकिने र कोरोना संक्रमणको वृद्धिदर पनि कम नभएपछि निषेधाज्ञाको समय थप गर्ने निर्णय भएको हो । उक्त बैठकले सरकारले ल्याएको नयाँ अध्यादेश अनुसार निषेधाज्ञा उल्लंघन गर्नेलाई कारबाही गर्ने निर्णय गरेको पनि सहायक प्रजिअ पोखरेलले जानकारी दिए ।
सरकारले ल्याएको कोभिड संकट व्यवस्थापन अध्यादेश २०७८ मा अध्यादेश वमोजिम कुनै पनि काम गर्न वाधा गर्नेलाई एक बर्षसम्म कैद वा पाँच लाख जरिवाना वा दुवै हुने व्यवस्था छ । यस्तै, अध्यादेश वमोजिम जारी भएको मापदण्डको पालना गर्नुपर्ने, पालना नगरेमा ६ महिनासम्म कैद वा तीन लाख जरिवाना वा दुवै सजाय हुने व्यवस्था भएको सहायक प्रजिअ पोखरेलले बताए ।