धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा रहस्यमयरुपमा हिजो (सोमबार) राती मृत्यु भएकी संक्रमित महिलाको परिवारजनले अन्त्येष्टी गरेको छ ।
मृतकको परिवारजनले इटहरीस्थित बुढीगंगा घाटमा आज दिउँसो शव बुझेर अन्त्येष्टी गरेको हो । त्यसअघि अस्पताल प्रशासनसँग भएको छलफलमा परिवारजनको माग वमोजिम सिसिटिभी फुटेज हर्न दिने र चित्त नबुझेमा छानबिन समिति गठन गर्ने सहमति भएको थियो । सोही अनुसार मृतक पक्षले सिसिटिभी फुटेज हेरेको र शव जिम्मा लिएर लगेको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए । ‘परिवारले भनेअनुसार नै फुटेज हेर्नुभयो, र शव अन्त्येष्टीको लागि लिएर जानु भएको छ,’सहप्रवक्ता डा.पोखरेलले भने,‘सिसिटिभी फुटेजमा विरामी सकुशल अवस्थामा नै बेडमा देखियो, नर्सहरु पनि सँगै भएको पाइयो । उहाँहरुले चित्त बुझाएर शव लिएर जानु भयो ।’
यद्यपी, सहप्रवक्ता डा.पोखरेलले बेडबाट लडेको भनेर बाहिर आएको कुरामा प्रतिष्ठानले आन्तरिक छानबिन गर्ने जानकारी दिए । उक्त छानबिनबाट आएको कुरालाई मृतक पक्षलाई पनि जानकारी गराइने उनले बताए । ‘लडेको भन्ने कुरा अस्पतालबाट नै भनिएको भन्ने छ, कसरी त्यस्तो भयो ? खास के भएको हो ? यसबिषयमा आन्तरिक छानबिन गर्ने र मृतक पक्षलाई पनि जानकारी दिइने भएको छ,’पोखरेलले भने ।
यता मृतक पक्षले शव जिम्मा लिएर अन्त्येष्टी गरेको भएपनि घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने मागमा अडान राखेको छ । नेपाली सेनाका क्याप्टेनसमेत रहेका मृतकका ज्वाँई धन नारायण श्रेष्ठले सिसिटिभी फुटेज हेरेपनि क्लियर हुन नसकेको बताए । ‘फुटेज सबै हेर्न बाँकी छ । सबै हेर्न भ्याइएन, शव अन्त्येष्टी पनि गर्नुपर्ने भएकोले हतार भयो,’उनले भने,‘हेरेको जति फुटेजमा विरामी ठिकै र नर्सहरु घुमेको नै थियो । अझै चित्त बुझेको छैन, सबै फुटेज छानबिनले हेर्ने भन्ने छ ।’
सिराहा गोलबजारकी ५५ बर्षीया संक्रमित महिलाको हिजो राती करिब साढे ७ बजे मृत्यु भएको थियो । उनको परिवारलाई दिउँसो २ बजे ब्रिफिंगको क्रममा बेडबाट लगेर घाइते भएको भनेर अस्पतालले जानकारी दिएको थियो भने दिउँसो ३ बजे पुनः नाक र निधार फुटेको, आइसले सेकिरहेको भनेर जानकारी दिएको परिवारजनले जनाएका छन् । उनीहरुले लापरवाही भएको दाबी गर्दै सिसिटिभी फुटेज हेर्न पाउनुपर्ने र छानबिन गर्नुपर्ने माग गरेका थिए ।