धरान: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोभिड १९ को तेस्रो र चौथो लहर आउन सक्ने भन्दै त्यसको लागि पुर्वतयारी गर्न मुलुकका सबै अस्पतालहरुलाई आग्रह गरेको छ ।
मन्त्रालयले देशभरका सबै सरकारी, निजी, सहकारी तथा सामुदायिक अस्पतालहरुलाई सरकारी पत्राचार गर्दै यस्तो आग्रह गरेको हो । मन्त्रालयका कोभिड महामारीको दोस्रो लहरलाई अथक प्रयासले काबुभित्रै राख्न सफल भएको भन्दै तेस्रो र चौथो लहरले बालबालिका बढी संक्रमित हुनसक्नेतर्फ पनि सबैलाई सचेत गराएको छ ।
मन्त्रालयले सबै अस्पतालहरुलाई आफ्नो स्वीकृत शैयाको कम्तीमा पनि २० प्रतिशत संक्रमित बालबालिकाहरुको उपचारमा प्रयोग हुने गरि तयारी अवस्थामा राख्न पनि आग्रह गरेको छ । यस्तै, वैकल्पिक प्राणवायु(अक्सिजन)को पनि व्यवस्थापन गर्न मन्त्रालयले पत्रमार्फत अनुरोध गरेको छ ।
नेपालमा प्रथम र दोस्रो लहरमा पौढ र युवाहरु बढी संक्रमित भएको र व्यवस्थापन तयारी पनि उनीहरुमै बढी लक्षित रहेको थियो । अब तेस्रो र चौथोमा बालबालिका बढी मात्रामा संक्रमित हुनसक्ने आँकलन गरिएको छ । मन्त्रालयले कोभिड १९ महामारी रोकथाम, निदान तथा विरामीको उपचार व्यवस्थापनमा पुर्याएको योगदानप्रति सबै अस्पताल एवं स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुमा उच्च सम्मान पनि प्रकट गरेको छ ।