धरान: चीनमा उत्पादन भएको कोभिड १९ विरुद्धको खोप भेरो सेल धरानमा पनि दिइने भएको छ।
संघीय सरकारले देशव्यापीरुपमा शुरु गर्ने खोप अभियानअन्र्तगत धरानमा पनि ज्येष्ठ नागरिकहरुलाई यो खोप दिइन लागेको हो । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार जेठ २५, २६ र २७ गते छाताचोकस्थित स्वास्थ्य चौकीमा खोप लगाइनेछ । यो खोप ६० बर्षदेखि ६४ बर्ष उमेरसम्मका ज्येष्ठ नागरिकहरुको लागि भएको पनि उनले बताए ।
खोप अभियानबारे उपमहानगरपालिकाले धरानका सबै २० वटा वडा कार्यालयहरुलाई पत्राचार गरिसकेको छ । आफ्ना वडामा रहेका तोकिएको उमेर समुहका ज्येष्ठ नागरिकहरु खोपबाट बञ्चित नहोस् भनेर वडा कार्यालयहरुलाई जानकारी दिइएको उपमहानगरले जनाएको छ ।
‘हामीलाई के कति खोप सामग्री आउने हो भन्ने भोली थाह हुन्छ, जिल्ला स्वास्थ्य कार्यालयले कुन तहमा कति पठाउने भनेर आज तयारी गर्दैछ,’मेहताले भने । यसअघि कोरोनाविरुद्ध अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, ज्येष्ठ नागरिक, कर्मचारीलगायतलाई भारतले अनुदान दिएको खोप कोभिडसिल्ड लगाइएको थियो । अझै पनि कतिपयले उक्त खोपका दोस्रो डोज लगाउनै बाँकी छ ।








