धरान: छातीमा १२ इञ्च लामो रड छिरेर गम्भीर घाइते भएका एक जना कोरोना संक्रमित पुरुषको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा जटिल शल्यक्रिया भएको छ ।
प्रतिष्ठानमा जेठ ११ गते राती आकस्मिक शल्यक्रिया गरिएका झापाका ३८ बर्षीय पुरुष हिजो निको भएर डिस्चार्ज पनि भइसकेका छन् । उनी डिस्चार्ज भइसके पछि मात्र प्रतिष्ठालने यो जटिल शल्यक्रियाबारे आज आइतबार जानकारी दिएको हो । प्रतिष्ठानका अनुसार जेठ ११ गते दिउँसो घरको भित्ता प्लाष्टर गर्दा गर्दै ६ फिट उचाईबाट खस्दा देब्रे पट्टी एउटा रड करिब १२ इञ्च (३० सेमी) भित्र छिरेको थियो । उनलाई छातीमा रड ननिकालेकै अवस्थामा करिब ४ बजे तिर प्रतिष्ठानको आकस्मिक कक्षमा ल्याइएको थियो ।
प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार विरामीको एक्स रे, सिटि स्क्यान र अन्य परीक्षणहरु गरेर तत्काल अप्रेशन गर्नुपर्ने निर्णय चिकित्सकको टोलीले गरेको थियो । जनरल सर्जरी विभागका डा.सुरेश प्रसाद साहको नेतृत्वमा कार्डियो थेरासिक भास्कुलर सर्जन डा.लोकेश शेखर जैसवाल, डा. रुपेस प्रसाद शाह, डा. विजय श्रेष्ठ, डा. रतिस कर्ण, डा. अर्विन्द, डा. पवन सापकोटा त्यसैगरि एनेस्थेसिया विभागका प्रा.डा. सत्येन्द्र नारायण सिंह, डा. योगेश ढकाल, डा. विशाल देव, डा. अरुण मण्डल साथै नर्सहरु जानकी चौधरी, गिता राई, ओ.टी टेक्निसियन रञ्जन पाठक, हेल्पर दल बहादुर खड्का लगायतको टिमले करिब ४ घण्टा लगाएर सफलतापुर्वक शल्यक्रिया गरेका थिए । प्रतिष्ठानका अनुसार राती ७ बजे शुरु भएको शल्यक्रिया राती ११ बजे सकिएको थियो ।

शल्यक्रिया गर्नुअघि जेन एक्सपर्टबाट पिसिआर रिपोर्ट पोजेटिभ आएपनि चिकित्सकहरुको टिमले अप्रेशन गरेका थिए । घाइतेको छातीमा छिरेको रडले देब्रे पट्टीको करङललाई छेडेर फोक्सोको तल्लो भागमा चोट पुर्याएको थियो भने मुटुको पेरिकार्डियममा समेत चोट पुर्याएको प्रतिष्ठानले जनाएको छ । शल्यक्रियाबाट रड निकाल्नुका साथै फोक्सो र मुटूका लागेको चोटको पनि उपचार भएको सहप्रवक्ता डा.पोखरेलले जानकारी दिएका छन् ।
शल्यक्रिया पछि घाइतेलाई कोभिड अस्पतालको आइसियुमा भर्ना गरिएको थियो । त्यही थप उपचार भएको र जेठ १७ गते पुनः पिसिआर परीक्षण गर्दा नेगेटिभ आएको थियो । त्यसपछि सर्जरी वार्डमा सारेर उपचार पश्चात पुर्ण निको भएका ती विरामीलाई हिजो डिस्चार्ज गरिएको सहप्रवक्ता डा.पोखरेलले जानकारी दिए ।







