धरान: चीन सरकारको अनुदानमा आएको कोभिड १९ विरुद्धको भेरो सेल खोप धरानमा ज्येष्ठ नागरिकहरुलाई लगाउन शुरु भएको छ ।
देशव्यापी रुपमा शुरु भएको खोप अभियान अन्तर्गत धरानमा पनि आजदेखि ज्येष्ठ नागरिकहरुलाई खोप लगाउन शुरु गरिएको हो । छाताचोकस्थित स्वास्थ्य चौकीमा खोप लगाउन ज्येष्ठ नागरिकहरुको भिड छ । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार धरानमा भेरो सेल खोप २ हजार १ सय ६० डोज आएको छ । धरानमा जेठ २५, २६ र २७ गतेसम्म खोप लगाईने मेहेताले जानकारी दिए ।
स्वास्थ्य प्रमुख मेहेताका अनुसार आज बिहान १० बजेदेखि खोप ६० वर्षदेखि ६४ वर्ष उमेरसम्मका ज्येष्ठ नागरिकहरुलाई लगाउन सुरु गरिएको हो । पहिलो दिन मात्रै धरानमा लगभग १ हजार भन्दा बढीले खोप लगाउने अनुमान गरिएको उनले बताए ।
गत फागुनमा कोरोनाविरुद्ध अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, ज्येष्ठ नागरिक, कर्मचारीलगायतलाई भारतले अनुदान दिएको खोप कोभिसिल्ड लगाइएको थियो । उनीहरुका लागि दोस्रो डोजको खोप आगामी असार पहिलो सातादेखि लगाउने स्वास्थ्य महाशाखाले जनाएको छ । धरानका मेयर तिलक राई, उपप्रमुख मञ्जु भण्डारी र प्रशासकिय अधिकृत विदुर प्रसाद खनालले भेरो सेल खोप लगाएको स्थानमा स्थलगत निरीक्षण गरेका थिए ।