धरान: जिल्ला प्रशासन कार्यालय सुनसरीले भोली बिहिबारदेखि जिल्लामा निषेधाज्ञा खुकुलो पार्ने निर्णय गरेको छ । 

हाल संक्रमण दर कम हुदै गएको र निषेधाज्ञाले सर्वसाधारणलाई परेको कठिनाईलाई मध्यनजर गर्दै भोली बिहिबारदेखि निषेधाज्ञा खुकुलो पारिएको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिए । उनका अनुसार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म खाद्यान्न पसल खोल्न दिइनेछ । उक्त समयमा डिपार्टमेन्ट स्टोरका ग्रोसरी समेत खोल्न मिल्नेछ ।

तर, पसलमा भिडभाड हुन नदिन सम्बन्धित स्थानीय तह र उद्योग वाणिज्य संघको समन्वयमा घर घरमा होम डेलिभरी पुर्याउन व्यवस्थाप मिलाउनुपर्ने पनि प्रजिअ ढकालले बताए । 'हामीले होम डेलिभरीलाई प्राथमिकता दिएका हौं, त्यसको लागि स्थानीय तह, उद्योग वाणिज्य संघले व्यवस्था मिलाउनुपर्छ,'उनले भने, 'नत्र भने त पसलमा भिडभाड भइहाल्छ, र जोखिम बढ्छ ।' 

पसल खोल्दा स्वास्थ्य मापदण्ड पुर्णरुपमा पालना गर्नुपर्नेछ । यस्तै, दुध डेरी तथा माछा मासु पसल पनि स्वास्थ्य मापदण्ड अपनाएर बिहान १० बजेसम्म र बेलुका ४ बजेदेखि ७ बजेसम्म खोल्न पाउने निर्णय भएको छ । यसैगरि, फलफुल तथा तरकारी संकलन तथा ढुवानी निर्वाधरुपमा गर्न पाइनेछ भने बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म ठेला गाडासमेतमा राखेर घर घरमा बिक्री गर्न पाइनेछ । तर, सब्जी मण्डी, गुद्री, हाट बजारमा भने बिक्री वितरणमा रोक लगाउने निर्णय भएको छ । यसैगरि, पुस्तक तथा स्टेशनरी पसलहरु स्वास्थ्य मापदण्ड अपनाएर बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म खोल्न पाउने निर्णय भएको छ । 

lock1