विराटनगर: प्रदेश १ को आगामी आर्थिक वर्ष २०७८र०७९ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । 

नीति तथा कार्यक्रममाथि आइतबार प्रदेशसभामा भएको छलफलमा विपक्षी दलकातर्फबाट सशोधन प्रस्ताव दर्ता गरिए पनि बहुमतबाट अस्वीकृत भएको थियो । नेपाली कांग्रेस र माओवादी केन्द्रको संशोधन प्रस्ताव अस्वीकृत भएपछि प्रदेशसभाले बहुमतले पारित गरेको थियो । जनता समाजवादी पार्टीका नेता जयराम यादवले भने संशोधन प्रस्ताव फिर्ता लिएका थिए ।

उपसभामुख सरस्वती पोखरेलले प्रदेश १ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेकी थिइन्। प्रदेशसभामा जेठ २७ गते प्रदेश प्रमुख सोमनाथ प्यासी अधिकारीले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । दुई दिनसम्म छलफल भएको नीति तथा कार्यक्रम पारित भएसँगै सरकारलाई अब बजेट ल्याउने बाटो पनि खुलेको छ ।