मोरङ: सेल्फी मोहले मोरङमा एक जनाको ज्यान गएको छ । 

 सुनवर्षी नगरपालिका ८ कुरेलीका स्थानीय २१ बर्षीय मनोहर मियाको सेल्फी खिच्ने क्रममा हात्तीको आक्रमणमा परी मृत्यु भएको हो । आज बिहान सवा ७ बजे भारतबाट नेपाल प्रबेश गरेको एउटा जंगली हात्तीको नजिकै गएर सेल्फी खिच्ने क्रममा मियालाई आक्रमण गरेको थियो । सेल्फि खिच्ने क्रममा हात्तीको आक्रमणमा परेर घाईते भएका उनलाई न्युरो अस्पताल विराटनगरमा उपचारको लागि लगिएको थियो । अस्पतालमा पुर्याउन साथ मियाको बिहान सँवा ८ बजे मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । उक्त हात्ती अहिले रतुवामाई तर्फ गएको प्रहरीले जानकारी दिएको छ । 

यसैगरि, ओखलढुंगा र पाँचथरमा लडेर २ जनाको मृत्यु भएको छ । ओखलढुङगाको सिद्दिचरण नगरपालिका ४ रुम्जाटारका  ६७ बर्षीय बिर बहादुर ठटालको घर नजिकै बारीको डिलबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ। हिजो बेलुका साढे ६ बजे उनलाई बारीको डिलबाट लडेर बेहोस अबस्थामा परिवारले फेला पारेको थियो । उनलाई घरमा पुर्‍याउन साथ मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै, आज बिहान ९ बजे पाँचथर फिदिम नगरपालिका ३ का ३९ बर्षीय जय कुमार राईको सोही स्थानमा रहेको फुस्रेडाडाको भिरबाट लडेर मृत्यु भएको छ । यी दुवै घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।