धरान: धरानको हर्दिया मार्ग कृषि सडक निर्माण आयोजनाको कारण घर भत्किएर विचल्ली भएकी विष्णुमाया राईले नयाँ घर पाएकी छिन् । 

धरान १५ निराजन टोलबासी र विभिन्न संघ संस्थाहरुको पहल एवं सहयोगमा बिष्णुमायाको नयाँ घर तयार भएको छ । निर्माण सम्पन्न भएको दुई कोठे घर शुक्रबार एक कार्यक्रमबीच धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी सुवेदीले विष्णुमायालाई हस्तान्तरण गरेकी थिइन् । प्रदेश र संघीय सरकारको बजेटबाट धरान १५ निराजन मार्गदेखि कन्यपोखरीसम्म कृषि सडक निर्माण कार्य भईरहेको छ। उक्त सडकले निराजन मार्गमा एक्लै बस्दै आएकी बिष्णु मायाको काठको घर भत्किएको थियो । उनको घर भत्किए पछि निराजन टोलका अग्रज डाकमान राई, पर्बत राई, गजेन्द्र राई, रबिन राई र लिलानाथ लिम्बूको पहलमा टोलबासी र विभिन्न संघ संस्थाको सहयोग विष्णुमायालाई नयाँ घर निर्माण गरिएको हो । 

ghar1

उक्त घर भुई ढलान, इट्टाको गारो, ट्रससहित टिनको छाना भएको दुई कोठे छ । यो घर २ लाख २४ हजार १ सय १० रुपैया लागतमा निर्माण सम्पन्न भएको हो । घर निर्माणको लागि निराजन बस्ती कल्याण समाज, किरात राई यायोक्खा कार्यसमिती धरान- १५, नेकपा एमाले धरान-१५ नम्बर कमिटी र हसिना ग्रुप प्रालि,सुन्दर हरैचा-५ मोरङले आर्थिक सहयोग गरेको थियो । यस्तै, टोलबासीहरुले आर्थिक सहयोग, निर्माण सामग्री सिमेन्ट, रड, ट्रस, जस्तापाता, इटा बालुवा, गिटी सहयोग गरेका थिए भने श्रमदानसमेत गरेका थिए । 

घर हस्तान्तरण कार्यक्रममा बोल्दै उपमेयर भण्डारीले सडक आयोजनाले घर भत्किए पनि टोलबासी मिलेर पुनः निर्माण गरिदिएकोमा स्थानीयबासीहरुप्रति आभार प्रकट गरेका थिए । टोलका अग्रज व्यक्तित्व पर्बत राईले सामाजिक दायित्व र कर्तव्य पूरा गरेको धारणा राख्दै युवा पुस्तामा पनि निस्वार्थ सामाजिक कार्यको भावना विकास गराउने उद्देश्यले सहयोग गरेको बताए । यस्तै, स्थानीय अग्रज व्यक्तित्व डाकमान राईले घर निर्माण कार्यमा सहयोग गर्नेहरुको नामावली वाचन गर्दै सबैलाई धन्यवाद दिएका थिए ।