मोरङ: मोरङको रतुवामाई नगरपालिका १० स्थित वनको कर्मचारी र पत्रकार भन्दै रकम असुल्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय सिजुवाको प्रहरी टोलीले ठगी गर्ने २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा इटहरी ६ जुटबिकास का ५० बर्षीय दधिराम चौहान र मोरङ सुन्दरहरैचा नगरपालिका ७ का ५६ बर्षीय पुष्प प्रसाद सिग्देल रहेका छन् । उनीहरुले असार ४ गते बेलुका ६ बजे रतुवामाई १० मा रहेको पूर्ण बहादुर श्रेष्ठको माईवेनी स मिलबाट रकम उठाउन आएको बेला प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुको साथबाट नगद ३२ हजार ९ सय ९५ रुपैया, सृष्टि साप्ताहिक तथा सन्देश दैनिक समाचार पत्र लेखिएको रसिद प्याड एक थान, उठाएको रकम अभिलेख भएको डायरी १ थान, कान्तिपुर पोष्टको बजार ब्यवस्थापक परिचय पत्र १ थान, जनमत साप्ताहिकको सम्वाददाता परिचय पत्र १ थान, बराह साप्ताहिकको सम्वाददाता परिचय पत्र १ थान पनि बरामद भएको प्रहरीले जनाएको छ । बरामद भएको रकम अभिलेख डायरीमा मोरङको बिभिन्न स्थानमा बस्ने २५ जनाबाट जनही १ हजार देखी ११ हजार ५ सय सम्म उठाएको उल्लेख गरिएको छ । 

पक्राउ परेकाहरुले 'हामी बनको कर्मचारी र पत्रकार हौं, कार्यालयमा तेलको आवश्यक छ सहयोग गर्नुहोस् अन्यथा तपाईहरूलाई काम गर्न अप्ठेरो हुनेछ' भन्ने डर त्रास देखाएर विभिन्न काठ मिलहरूबाट रकम उठाई ठगी गर्ने गरेको प्रारम्भिक अनुन्धानबाट खुलेको मोरंग प्रहरीले जनाएको छ। पक्राउ परेकाद्धय चौहान र सिग्देलबारे ठगी कसूरमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।