मोरङ: विराटनगरमा विभिन्न पसलहरुबाट चोरी गर्ने २ जना नगद र चोरीका सामानहरुसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर ११ का २९ बर्षीय संजय भन्ने अंगत चौधरी र विराटनगर ६ का ३१ बर्षीय सन्तोष दास रहेका छन् ।

 जिल्ला प्रहरी कार्यालय मोरङले उनीहरुलाई आफ्नै घरबाट पक्राउ गरेको हो । पक्राउ परेका दासको साथबाट ५५ हजार ७ सय ५० नगद वरामद भएको प्रहरीले जनाएको छ । यस्तै, चौधरीको कोठाबाट कोनिका कम्पनीको टिभि थान १, कानमा लगाउने झुम्का ३ थान, एलसिडि टिभि १ थान, मोवाईल २ थान, फलामे कराई १ थान, फलामे औजार ४ थान, चाँदीको सिक्री १ थान र नगद ५ लाख ८ हजार ७ सय ३ वरामद भएको प्रहरीले जनाएको छ । 

प्रहरीले थप अनुसन्धान गर्ने क्रममा गत जेठ ९ गते विराटनगर ११ का बिनोद कुमार नुनियाले संचालन गरेको महाविर इलेकट्रिक पसलमा भेन्टिलेशन फुटाई नगद ६५ हजार चोरी गरेको खुलेको छ । यस्तै, जेठ ११ गते विराटनगर १५ बैंक रोडका समिर लामाको वाइनआर्ट पसलमा राती झ्याल फुटाएर नगद ८९ हाजर १ सय ४५ र २ वाट मोवाईल चोरी गरेको पाइएको छ ।

त्यसैगरी गत जेठ १६ गते विराटनगर ९ महेन्द्र चौकस्थित अनिस रिजालले संचालन गरेको नेक्स टर्म एजुकेसन भिसा सर्भको ढोका फुटाएर ७ थान धाराको टुटी चोरी गरेका थिए भने जेठ १५ गते विराटनगर ९ रामजानकी पथका बिरेन्द्र कुमार मण्डलले संचालन गरेको आभुषण ज्वेलर्स सुनचाँदी पसलबाट सुन २४ ग्राम, चाँदीको पुजाको भाडा ३५० ग्राम, नगद १७ हजार र ग्याँस सिलिण्डर १ थान चोरी गरेको खुलेको छ । पक्राउ परेका चौधरी र दासलाई चोरी कसूरमा थप अनुसन्धान कार्य भई रहेको मोरंग प्रहरीले जानकारी दिएको छ ।