संखुवासभा: संखुवासभाको खाँदबारी नगरपालिका ४ सेखामा सेफ्टीट्यांकीमा खसेर २ जना मजदुरको मृत्यु भएको छ । 


स्थानीय नरेश गुरुङको घरमा नया ट्वाईलेट बनाउने क्रममा ढलानको सेटिङ खोल्ने क्रममा अचानक उक्त सेफ्टीटेङ्कीमा खसेर २ जना मजदुरको मृत्यु भएको हो । मृत्यु हुनेमा खाँदबारी ५ का ३७ बर्षीय ताराबिर गुरुङ र २४ बर्षीय ईश्वर बहादुर राई रहेका छन् । हिजो साढे ६ बजे सेफ्टीटङकीमा खसेर उनीहरु बेहोस भएका थिए ।

दुवैलाई तत्काल उद्दार गरि जिल्ला अस्पताल खादबारीमा उपचारको लागि लगिएको थियो । उपचारकै क्रममा उनीहरुको पौने ८ बजे राती मृत्यु भएको हो । घटनाबारे जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले टोलीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।