धरान: धरान वडा नं १ पुरानो बजारबाट प्रतिबन्धित औषधीसहित २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धरान ९ कि ३० बर्षीया आस्मा खातुन र धरान २ का ३५ बर्षीय मुन्ना प्रसाद मण्डल रहेका छन् । खातुनले प्रतिबन्धित औषधीको कारोबार गर्ने गरेको सुचना पाएपछि ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले दुवैलाई बिहिबार साँझ पक्राउ गरेको हो ।
पुरानो बजारमा रहेको खातुनको कोठामा खातुनसहित मण्डललाई फेला पारेपछि खानतलासी गर्दा मण्डलको साथबाट प्रतिबन्धित औषधी वरामद भएको प्रहरीको भनाई छ । उनको साथबाट स्पास्मो प्रोक्सिभन प्लस १८ पत्ता (१४४ क्याप्सुल)र खातुनको कोठामा लुकाई राखेको ३०६ पत्ता (२४४८ क्यापसुल) वरामद भएको धरान प्रहरीले जनाएको छ । दुवै जनालाई पक्राउ गरेर थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।