धरान: प्रदेश नम्बर १ विराटनगरको प्रहरी तालिम केन्द्रका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) सवार गाडीलाई गए राती धरानको तीनकुनेमा एक स्कुटरले ठक्कर दिएको छ । 

राती करिब साढे ९ बजे एसएसपी सवार बा १ झ ४९७३ नम्बरको गाडीलाई प्रदेश-१-०२-०४३ प ७८७६ नम्बरको स्कुटरले ठक्कर दिएको हो । एसएसपी धरानबाट विराटनगर तर्फ गइरहेका थिए भने स्कुटर पनि सोही दिशातर्फ गइरहेका थिए । उक्त दुर्घटनामा एसएसपी सवार गाडी सामान्य कोरिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

स्कुटर चालक बर्दिया घर भई हाल धरान ८ बसोबास गर्ने २३ बर्षीय सुमन चौधरीले सामान्य मापसे गरेको भेटिएको पनि ट्राफिक प्रहरीको भनाई छ । यस्तै, स्कुटर चालक चौधरी र पछाडि सवार संखुवासभाको सिलिचोङ गाउँपालिका ५ का ३३ बर्षीय प्रमोद तिम्सिना सामान्य घाइते भएका थिए । उनीहरु दुवैलाई वीपी प्रतिष्ठानमा उपचारको लगिएको थियो । दुवै जना वेल्डिंगको काम गर्ने गरेको खुलेको छ । स्कुटर अस्थायी प्रहरी पोष्ट तिनकुनेको नियन्त्रणमा रहेको छ भने स्कुटर चालकको सवारी चालक अनुमति पत्र खुलेको छैन । स्कुटर चालक मापसे गरेको कारण उक्त दुर्घटना भएको प्रहरीको भनाई छ ।