धरान: कोरोना संक्रमण भएपछि उपचाररत धरान वडा नं १५ का दुई महिलाको मृत्यु भएको छ ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा ३९ र ६३ बर्षीय महिलाको मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार ३९ बर्षीय महिलाको गए राती ९ बजेर १० मिनेटमा मृत्यु भएको थियो । उच्च रक्तचापका विरामी रहेकी ती महिलालाई असार ९ गते संक्रमण पुष्टि भएको थियो भने ११ गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो।
यसैगरि, ६३ बर्षीय वृद्धाको आज बिहान २ बजेर १० मिनेटमा कोभिड अस्पतालमा मृत्यु भएको हो । उच्च रक्तचापका विरामी वृद्धालाई जेठ ३० गते संक्रमण पुष्टि भएको थियो भने असार ६ गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो । मृतक दुवैको शव नियम अनुसार व्यवस्थापन गरिएको प्रतिष्ठानले जनाएको छ ।