धरान: महेन्द्र बहुमुखी क्याम्पस धरानका पुर्व क्याम्पस प्रमुख सुर्यकुमार राईको निधन भएको छ । 

आज दिउँसो इटहरी २० तरहरास्थित आफ्नै घरको छतबाट खसेर मृत्यु भएको हो । यद्यपी, प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । इटहरीका डिएसपी अर्जुन केसीले भने,'घरमाथिबाट खसेको भन्ने छ । घटनास्थलमा हाम्रो टोली पुगेको छ । अनुसन्धान पछि नै यथार्थ कुरा भन्छौं ।'

मृतकको शव मुचुल्का उठाएर प्रहरीले वीपी प्रतिष्ठान धरानको मर्चरीमा लगिएको छ । मृतक श्रीमतिको साथमा घरमा बस्दै आएका थिए । उनका २ जना छोरा बुहारी अमेरिकामा बस्दै आएको स्थानीयले जानकारी दिएका छन् । उनका एक छिमेकीका अनुसार पाइपबाट पानी लिकेज भएपछि हेर्न जाने क्रममा घरको तेस्रो तला (छत)बाट चिप्लिएर खसेको र घटनास्थलमा नै मृत्यु भएको हो । 'पाइप हेर्न जाने क्रममा चिप्लिएर खस्नु भएछ, टाउको पछाडि भुईमा बजारिएछ,'मोवाइल सम्पर्कमा छिमेकीले भने । 

मृतक राई भुमी सम्बन्धी समस्या समाधान आयोग, जिल्ला समिति सुनसरीका विज्ञ सदस्य रहेका थिए । उनी मृतक किरात राई यायोक्खा सुनसरीको संस्थापक सचिव पनि हुन् । उनी २०४७ देखि २०५३ सम्म २ कार्यकाल सचिवकोरुपमा रहेका थिए । उनी हाल यायोक्खा सुनसरीको सल्लाहकार थिए ।' हाम्रो अभिभावक पनि हो उहाँ । किरात प्रदेश नामकरणको अभियानकर्ता पनि हुनुहुन्थ्यो, उहाँजस्तो विद्धत मान्छे गुमाउनु पर्दा ज्यादै दुःखी छौं,'यायोक्खा सुनसरीको सचिव राजेन्द्र राईले भने ।