धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका रजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मी र उपकुलपतिका पुर्व प्रशासनिक सल्लाहकार दिलिप भट्टराईबीच आरोप-प्रत्यारोप चलेको छ ।

गत बर्ष चर्को विवादमा परेका उपकुलपतिका सल्लाहकार भट्टराईले राजिनामा दिएर प्रतिष्ठानबाट बाहिरिसकेका छन् । तर, उनले सामाजिक सञ्जालमा रजिष्ट्रार डा.रेग्मीमाथि लगाएका गम्भीर आरोपले भने अहिले पुनः उनी चर्चामा छन् । यतिबेला प्रतिष्ठानमा सुद्धिकरण अभियान अन्तर्गत चिकित्सक, विद्यार्थी, नर्सिङ र कर्मचारीहरुले आन्दोलन चर्काएका छन् भने चारै जना पदाधिकारीहरुले राजिनामा दिनुपर्ने माग राखेर तालाबान्दी गरेका छन् । 

ठिक यही बेला स्वास्थ्य सामग्री खरीद गर्दा उपकुलपति डा.ज्ञानेन्द्र गिरीले धरानका व्यापारी चेतन अग्रवालसँग मिलेर करिब डेढ करोड घोटाला गरेको भन्दै रजिष्ट्रार रेग्मीले एक पत्रकारलाई जानकारी दिएको अडियो रेकर्ड सार्वजनिक भएको छ । अर्कोतिर, रजिष्ट्रारमा नियुक्ती पाउन डा.रेग्मीले तत्कालिन स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई ७ करोड बुझाएको भन्दै केही समय अघि उपकुलपतिका पुर्वसल्लाहकार भट्टराईले लगाएको आरोप पुनः ब्युतिएको छ ।

यो आरोपको खण्डन नगरी लामो समय मौन बसेका रजिष्ट्रार डा.रेग्मीले पत्रपत्रिकामा खण्डन छपाएका छन् । उनले रजिष्ट्रार नियुक्ती प्रक्रिया अनुसार नै भएको र हरेक प्रक्रियामा भ्रष्टचार देखिने प्रवृत्तिबाट ग्रसित कुण्ठाग्रस्त मनसायले प्रेरित सामाजिक सञ्जालको साभार र समाचार सत्य नभएको प्रष्टीकरण दिएका छन् ।

रजिष्ट्रार डा.रेग्मीले छपाएको उक्त खण्डनबारे उपकुलपतिका पुर्वसल्लाहकार भट्टराईले आज पुनः फेसबुकमा जवाफ दिदै प्रत्यक्ष सार्वजनिक बहस गर्न रजिष्ट्रार रेग्मीलाई चुनौती दिएका छन् । साथै उनले रजिष्ट्रार जुन प्रक्रियाबाट नियुक्ती भएका थिए, त्यसैबाट हटाउने पनि चुनौती दिएका छन् । रजिष्ट्रार रेग्मी र उपकुलपतिका पुर्वसल्लाहकार भट्टराईबीचको यो आरोप-प्रत्यारोपले वीपी प्रतिष्ठानमा अहिले चलिरहेको सुद्धिकरणको आन्दोलन जायज हो भन्ने औचित्य पुष्टि गरेको छ । 

के हो विवाद ?

उपकुलपति डा.गिरीले सिफारिश गरेका मध्येबाट रजिष्ट्रारमा नियुक्त भएका डा.रेग्मी र उपकुलपतिका सल्लाहकार भट्टराईबीच शुरुवाती समयमा सुमधुर सम्बन्ध थियो । उपकुलपतिका विश्वास पात्र भट्राईलाई उपकुलपतिले अत्यधिक अधिकार दिएका थिए । रजिष्ट्रारमा नियुक्ती भएलगत्तै डा.रेग्मीलाई पनि उपकुलपति डा.गिरीले दिनमा २० लाखसम्म भुक्तानी दिने अधिकार दिएका थिए । 

समय बित्दै जादा उपकुलपति र उनका सल्लाहकार भट्टराईसँग रजिष्ट्रारको सम्बन्ध दरार पैदा भयो, दुवैसँग शुरुवाती समय जस्तो सम्बन्ध सुमधुर रहन सकेन । उपकुलपतिले रजिष्टारको आर्थिक अधिकार खोसेर ३ लाखमा सिमित गरिदिए । यसले दुवैबीच थप मनमुटाव बढ्यो । स्वास्थ्य सामग्री खरीद, टेण्डरलगायत बिषयमा उपकुलपति गिरी र रजिष्ट्रार रेग्मीबीच मतभेद हुन थालेको थियो । जुन कुराको पुष्टि सार्वजनिक भएको रजिष्ट्रारको अडियो रेकर्डले पनि गर्छ । यसबीचमा कोभिड अस्पतालको सामग्री खरीदलगायत विवादमा परेका सल्लाहकार भट्टराईले राजिनामा दिनबाध्य भए । 

dilip

भट्टराईले गएको बैशाखमा फेसबुकमा पोष्ट गर्दै रजिष्ट्रार डा.रेग्मीले ७ करोड बुझाएर नियुक्ती भएको गम्भीर आरोप लगाए । रजिष्ट्रारले बुझाएको रकम स्वास्थ्य सामग्री आयात गर्ने कम्पनीको उपकरणहरु किन्नु पर्ने सर्तमा कुनै कम्पनीले व्यहोरेको र विभिन्न शक्ति केन्द्रलाई दिइएको भनेर भट्टराईले लेखेका थिए । त्यही पोष्टमा उनले पछि सिटि स्क्यान उपकरण खरीदमा चर्को दबाब दिएको तर उपकुलपतिको सही निर्णयको कारण प्रतिष्ठानको करोडौं रकम जोगिन पुगेको भट्टराईले उल्लेख गरेका थिए ।

वीपी प्रतिष्ठानमा चारै जना पदाधिकारीको राजिनामा दिनुपर्ने मागसहितको आन्दोलन चर्किए पछि सेतोपाटीमा जीवन क्षेत्रीले भट्टराईको यो फेसबुक स्टाटसलाई पनि उल्लेख गरी केही दिनअघि प्रकाशन गरे । जसले गर्दा भट्टराईको पुरानो स्टटसले चर्चा मात्र पाएन, लामो समय मौन बसेका रजिष्ट्रार रेग्मीले खण्डन नै गर्नुपर्यो ।

रकम बुझाएको होइन, प्रक्रिया अनुसार नै नियुक्ती हो: रजिष्ट्रार

नियुक्तीमा मन्त्रीलाई ७ करोड बुझाएको आरोपबारे रजिष्ट्रार डा.रेग्मीले खण्डन गरेका छन् । उनले प्रतिष्ठानको रजिष्ट्रार नियुक्ती प्रक्रिया अनुसार भएको दाबी गरेका छन् । हरेक प्रक्रियामा भ्रष्टचार देखिने प्रवृत्तिबाट ग्रसित कुण्ठाग्रस्त मनसायले प्रेरित सामाजिक सञ्जालको साभार र समाचारमा कुनै सत्यता नरहेको रजिष्ट्रार रेग्मीले प्रष्ट्याएका छन् ।

rajistar

समाचारमा उल्लेख गरिएको मोटरसाइकल खरीद पनि प्रतिष्ठानकै भएको र आफुले उपकुलपतिका पुर्वसल्लाहकार भट्टराईलाई उपहार नदिएको पनि रजिष्ट्रारले प्रष्ट पारेका छन् । उनले आफु नियुक्त भएपछि खरीद प्रक्रियालाई सार्वजनिक खरीद प्रक्रिया अनुसार व्यवस्थित गर्न कोशिश गरेको र रजिष्ट्रार कार्यालय अन्तर्गत हुने पट्के खरीदलाई न्युनीकरण गरी ई कोटेशन र इ टेण्डरमार्फत हुने प्रक्रियालाई बढावा दिएको पनि रजिष्ट्रारले विज्ञप्तीमार्फत जानकारी दिएका छन् ।

भट्टराईको प्रतिक्रिया: मसँग प्रत्यक्ष सार्वजनिक बहस गर्न तयार हुनुहुन्छ ?

रजिष्ट्रार डा.रेग्मीले आफुमाथि लागेको आरोपबारे पत्रिकामा खण्डन छपाएपछि उपकुलपति गिरीका पुर्व सल्लाहकार भट्राईले पुनः आज साँझ फेसबुकमार्फत 'प्रत्यक्ष सार्वजनिक रुपमा बहस गर्न' रजिष्ट्रारलाई चुनौती दिएका छन् । उनले रजिष्ट्रारलाई 'जुन प्रक्रियाबाट तपाईं नियुक्त हुनुभो, त्यसैबाट तपाईंलाई हटाउन सकिन भने मलाई भन्नू होला' भनेर पनि चुनौती दिएका छन् ।

मन्त्रीको श्रीमतीबाट मन्त्रिलाई प्रेसर गर्ने , रक्सि व्यापारीबाट उपकुलपति, रजिष्ट्रार छनौट कार्यदललाई दबाब दिने, आर्थिक प्रलोभन समेत अफर गरेकोलगायत थप आरोप लगाउदै भटट्राईले भनेका छन्, 'मेरो सार्वजनिक चुनौती मसंग प्रत्यक्ष सार्वजनिक रुपमा बहस गर्न तयार हुनुहुन्छ ?'

dilip 1