धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीहरुसँग केही सिनेट सदस्यहरुले छलफल गरेका छन् । 

संयुक्त संघर्ष समितिले चारै जना पदाधिकारीको राजिनामा माग गर्दै कार्यकक्षमा तालाबन्दी गरेर आन्दोलन जारी राखेको र वार्ता पुनः शुरु हुन नसकेको अवस्थामा हिजो साँझ सिनेट सदस्यहरुले पदाधिकारीहरुसँग छलफल गरेका हुन् । उक्त छलफलमा सिनेट सदस्यहरुले चाडै आन्दोलनरत पक्षलाई विश्वासमा दिलाएर वार्ताको वातावरण बनाउन सुझाव दिएका छन् । वार्ताको वातावरण बनाउन नसकेमा मार्ग प्रशस्त गर्न पनि सुझाव दिइएको सिनेट सदस्यसमेत रहेका धरानका मेयर तिलक राईले जानकारी दिए । ‘अनिर्णयको बन्दी बनाइराख्नु भएन, आन्दोलनकारीलाई वार्ताको टेवलमा ल्याउने किसिमको श्विासको वातावरण बनाउनुस्, समस्या वार्ताबाट नै हो, अर्को विकल्प छैन भन्यौं,’मेयर राईले भने,‘होइन भने मार्ग प्रशस्त्र गर्नुस् पनि भन्यौं ।’

मेयर एवं सिनेटर राईका अनुसार लामो समयदेखि पदाधिकारी र आन्दोलनरत पक्षबीच वार्ता हुन नसकेर अनिर्णयको बन्दी भएकोले आफुहरुले पदाधिकारीहरुसँग छलफल गरेको हो । त्यसअघि शनिबार ६ जना सिनेट सदस्यहरुबीच प्रतिष्ठानको पछिल्लो अवस्था र समाधानको लागि छलफल भएको थियो । ‘डेडलकको अवस्था छ, आन्दोलनकारीहरुले पदाधिकारीहरुसँग विश्वास भएन भनेर माग राखिरहेका छन् । केन्द्रको राजनीति पनि प्रतिकुल भएकोले प्रधानमन्त्री, स्वास्थ्यमन्त्रीले यता ध्यान दिने स्थिति छैन,’मेयर राईले भने,‘त्यसैले हामीले केही समन्वय गर्नुपर्छ भनेर छलफल गर्यौं, र पदाधिकारीहरुसँग पनि कुरा गर्यौं ।’

सिनेट सदस्यहरुबीच पदाधिकारीहरुबाट समस्या हल हुन नसक्ने अवस्था भए स्वास्थ्य मन्त्रालयले प्रतिनिधि पठाएर भएपनि पहलकदमी लिनुपर्नेबारे कुरा भएको मेयर राईले जानकारी दिए । पदाधिकारीहरुसँगको छलफलमा मेयर राई, उपमेयर तथा सिनेट सदस्य मञ्जु भण्डारी, सिनेट सदस्य प्रा.डा.सञ्जिव शर्मा र सिनेट सदस्य प्रा.डा.पारस पोख्रेल सहभागी थिए ।