धरान: धरान उपमहानगरपालिकाको आगामी आर्थिक बर्ष २०७८/७९ को नीति तथा कार्यक्रम र आर्थिक विधेयक पारित भएको छ। 

सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा आयोजित नवौं नगरसभाको दोस्रो बैठकले शुक्रबार नीति तथा कार्यक्रम र आर्थिक विधेयक पारित गरेको हो । उपमहानगरपालिकाको सुचना अधिकृतसमेत रहेका राजश्व महाशाखा प्रमुख खगेन्द्र खतिवडाका अनुसार भोली पुनः बैठक बस्ने गरिन स्थगित भएको छ । भोली हुने बैठकमा विनियोजन विधेयकमाथि छलफल हुने पनि उनले बताए । 

खतिवडाका अनुसार बैठकमा असार १५ गतेसम्म नीति तथा कार्यक्रम, आर्थिक विधेयक र विनियोजन विधेयकमाथि बोल्न चाहनाहरुले नाम टिपाएका थिए । बैठकमा उनीहरुले कुरा राखेको खतिवडाले बताए । ‘१५ गतेभित्र नाम टिपाउने नगरसभा सदस्यहरुले कुरा राख्नुभयो, उठेका कुराहरुमाथि विधेयक प्रस्तुतकर्ता उपप्रमुखले प्रष्ट पार्नुभयो,’खतिवडाले भने,‘त्यसपछि प्रमुखले पारित गर्न प्रस्ताव गर्नुभयो, ध्वनी मतले सर्वसम्मत नीति तथा कार्यक्रम, आर्थिक विधेयक पारित भयो । अब खर्च सम्बन्धी विनियोजन विधेयकमाथि भोलीको बैठकमा छलफल हुन्छ ।’

असार १० गते उद्घाटन भएको नगरसभा असार १९ गते बस्ने गरि स्थगित भएको थियो । नगरसभामा आगामी आर्थिक बर्षको २ अर्ब ३ करोड ६४ लाखको बजेट, नीति तथा कार्यक्रम पेश भएको थियो । बजेटमा सहमति हुन नसकेपछि असार २५ गतेको बैठक रोकिएको थियो । हिजो र आज बिहान कार्यपालिका बैठक बसेर बजेटमा सहमति जुटाएका थिए ।