सुनसरी: ईटहरी ६ बाट ब्राउन सुगरसहित ४ जना पक्राउ परेका छन् ।
एक होटलमा लागुऔषधको कारोवार भईरहेको भन्ने सूचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालयको अनुसन्धान समुह र ईलाका प्रहरी कार्यालय ईटहरीको टोलीले गए राती पौने १२ बजे उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बारा जिल्लाको निजगढ नगरपालिका १२ घर भई ईटहरी ५ मा बस्दै २७ बर्षीय दिपक भन्ने बिरेन्द्र राई, ईटहरी ५ का १६ बर्षीय एक बालक र ईटहरी ४ का १८ बर्षीय जोन चौलागाई रहेका छन् ।
उनीहरुको साथबाट प्रहरीले ५६ ग्राम २ सय मिलिग्राम ब्राउनसुगर, तौल नाप्ने डिजिटल उपकरण १ थान, बिभिन्न कम्पनीको मोबाईल ३ थान, मोटरसाईकल १ थान र नगद २ हजार समेत बरामद गरेको छ । पक्राउ परेकाहरुलाई सोधपुछ गर्ने क्रममा ईटहरी ४ का २३ बर्षीय बिबेक खड्काको समेत संग्लग्नता खुलेपछि उनलाई पनि पक्राउ गरिएको छ । खड्काको साथबाट २९ ग्राम ८ सय मिलिग्राम ब्राउनसुगर वरामद भएको छ । पक्राउ परेकाहरुबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।