इटहरी: इटहरी उपमहानगरपालिकाको वडा नम्वर २ को कार्यालय भवन उद्घाटन भएको छ ।
एक समारोहबीच मेयर द्धारिकलाल चौधरीले इटहरी वडा २ को कार्यालय भवन उद्घाटन गरेका हुन् । सव इन्जिनियर खेम कुमार श्रेष्ठका अनुसार दुईतले वडा कार्यालय भवन १ करोड १७ लाख ६० हजारको लागतमा वनेको हो । आधारभूत स्वास्थ्य इकाई भवन ४९ लाख ९७ हजारमा निर्माण सम्पन्न गरिएको हो । वडा नम्वर २ का वडाध्यक्ष हर्क मगरले वडा नम्वर २ लाई पारदर्शी बनाइएको बताए ।
सोही कार्यक्रममा मेयर चौधरीले आफनो कार्यकाल भरिमा इटहरीका सवै मुलवाटोहरु कालोपत्रे गर्न नसके राजनीतिबाटै सन्यास लिने बताए । उनले बहुवर्षे योजना अन्र्तगत धेरै योजना संचालनमा रहेको जानकारी दिए । केही योजना निर्माण भइसकेको छ । चालु आर्थिक बर्षमा ६० वटा योजना टेण्डर भइसकेको उल्लेख गर्दै चौधरीले इटहरीले पूर्वाधार निर्माणमा फडको मारेको दावी गरे । उनले समयमै वडा कार्यालय भवन र आधारभूत स्वास्थ्य इकाई भवन निर्माण सकेकोमा धन्यवाद पनि दिए ।
कार्यक्रममा कार्यपालिका सदस्य गंगाँ गुरुड,स्थानीय फूलराज सुवेदी,जग्गा दाता सुन्दरदेवी मन्दिर काब्य वाटिकाकी अध्यक्ष पुण्यप्रभा गुरागाँई र जसपा वडा नम्वर २ अध्यक्ष दुर्गा गुरुडले आफनै कार्यालय भवन भएपछि जनतालाई वडावाट सेवा लिन सहज भएको वताए ।
कार्यकाल पूर्वाधार निर्माणमा कोशेढुंगा सावित हुनेः उपमेयर
इटहरीकी उपमेयर लक्ष्मी गौतमले यो कार्यकाल पूर्वाधार निर्माणमा कोशेढुंगा सावित हुने बताए । उनले पनि उपमहानगरपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको बताइन् । उपमेयर गौतमले वडा कार्यालय भवनहरुको निर्माण, प्रत्येक वडामा आधारभूत स्वास्थ्य इकाई भवन, वहुबर्षे योजना अन्र्तगत गाउँ गाउँका मूलवाटोहरु कालोपत्रे भएको बताइन् । पाँच बर्षे कार्यकालमा सम्झनलायक पूर्वाधार निर्माण गरिने पनि उनको भनाई थियो ।